कैलाश मानसरोवर यात्राका क्रममा घोडाबाट लड्दा भारतीय पूर्वविदेश राज्यमन्त्री मीनाक्षी लेखी घाइते भएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यात्राको दोस्रो समूहकी सदस्य लेखी तिब्बतको दार्चिनमा घोडाबाट लडेर घाइते भएकी हुन्।
उनी जुलाई ९ मा ४८ जनाको समूहसहित पिथौरागढ पुगेकी थिइन्। त्यसपछि जुलाई १४ को बिहान तिब्बत प्रवेश गरेकी थिइन्।

उनलाई आइतबार बिहान भारत फिर्ता ल्याइएको छ।
पिथौरागढका डीएम विनोद गोस्वामीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘उनी दार्चिनभन्दा अगाडि चीनतर्फ जाँदा घाइते भएकी हुन्। त्यसपछि एक्स-रे र प्राथमिक उपचारपछि उनलाई ताकलाकोट (तिब्बत) ल्याइएको थियो।’
उनले थपे, ‘त्यसपछि विदेश मन्त्रालयमार्फत चीनसँग कुरा गरेपछि उनलाई (भारत) फिर्ता ल्याइएको छ।’
डीएम गोस्वामीका अनुसार आइतबार बिहान उनी भारतको लिपुलेख पास आइपुगेकी छन्। हाल उनी गुन्जीमा छिन्। गुन्जी नेपाली भूमि भए पनि भारतले अतिक्रमण गरी पिथौरागढअन्तर्गत राखेको छ।
Shares

प्रतिक्रिया