इरान र इजरायलबीच हालै भएको १२ दिने युद्धबारे इराक बल्ल बोलेको छ।
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीले सोमबार इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन भएको बताएका हुन्।
बीबीसी फारसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीसँग उपयुक्त हवाई रक्षा प्रणाली नभएका कारण इजरायली लडाकु विमानहरूलाई इरानमा आक्रमण गर्न इराकी हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्न सकेनौँ।’
उनले अगाडि भनेका छन्, ‘युद्ध सुरु हुनुभन्दा लगभग ४८ घण्टाअघि सबै सुरक्षा, राजनीतिक र मिडिया अनुमानले सैन्य कारबाही हुन लागेको संकेत गरेका थिए।’
इराकका प्रधानमन्त्रीलाई हवाई क्षेत्रको उल्लंघन रोक्न के कदम चालिएको थियो भनेर सोधिएको थियो।
जवाफमा उनले भनेका छन्, ‘इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको सदस्य रहेको स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन हो। यो संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन हो र इराकी सेना र देशका बासिन्दाहरूका लागि खतरा हो।’
जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशले १२ दिनसम्म एकअर्काविरुद्ध हवाई आक्रमण गरिरहेका थिए। त्यसपछि अमेरिकाले पनि जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा बम आक्रमण गरेको थियो।
बदलामा इरानले पनि जुन २३ मा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै जुन २४ मा इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया