अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलसँग 'खुसी नभएको' बताएका छन्।
हेगमा नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इजरायलप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भने, 'मलाई यो पटक्कै मन परेन, इजरायलले (युद्धविराम) सम्झौता भएलगत्तै आक्रमण गर्यो। आक्रमण गर्न आवश्यक थिएन।'
ट्रम्पले थपे, 'दुई देशहरू छन्, जो यति लामो समयदेखि र यति उग्र रूपमा लडिरहेका छन् कि उनीहरूलाई थाहा पनि छैन कि उनीहरू के गरिरहेका छन्।'
ट्रम्पले इजरायललाई इरानमा आक्रमण रोक्न आग्रह पनि गरेका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, 'इजरायल, बम नखसाल। यदि तिमीले त्यसो गर्यौ भने यो घोर उल्लंघन हुनेछ। आफ्ना पाइलटहरूलाई अहिले नै घर फिर्ता बोलाऊ।'
यसअघि ट्रम्पले इरान र इजरायलबीच मंगलबार बिहानदेखि युद्धविराम लागु भएको घोषणा गरेका थिए।
इजरायली सेनाले इरानले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ भने इरानले यो कुरा अस्वीकार गरेको छ।
Shares

प्रतिक्रिया