राजनीति


मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छः एमाले महासचिव पोखरेल

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छः एमाले महासचिव पोखरेल

नेपालखबर
असार १०, २०८२ मंगलबार १९:२६, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताए। महासचिव पोखरेलले  नेपाली कांग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए।

उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उनको भनाइ रहेको छ। इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले बताए। 

असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गर्दै  यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने बताए। एमाले र कांग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत बताए।

महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताए। आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उनले आरोप लगाए।

उनले अहिले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन आग्रह गरे। पोखरेलले पार्टीमा संगठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गरे। संगठनात्मक अराजकता र अवसरवाद प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने उनको भनाइ थियो। 

संगठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उनको धारणा रहेको छ। ‘पार्टीमा अनुशासन कायम गर्नैपर्छ, संगठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ’, उनले भने।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा युवालाई प्राथमिकतामा राखेको भन्दै मिसन–२०८४ सफल बनाउन लाग्नुपर्ने बताए। युवा संघका इन्चार्ज राजीव पहाडीले युवाका मुद्दा पहिचान गरि युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने खालका कार्यक्रममा युवा संघ केन्द्रीत हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad