अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच 'पूर्ण' युद्धविराम हुने घोषणा गरेपछि इरानले प्रतिक्रिया दिएको छ।
इरानका विदेशमन्त्री सईद अब्बास अरागचीले इजरायलले युद्ध बन्द गर्यो भने आफूहरू पनि तयार रहेको बताएका हुन्।
उनले भनेका छन्, ‘यदि इजरायलले सैन्य कारबाही बन्द गर्यो भने बदला लिने हाम्रो पनि कुनै चाहना छैन।’
उनले थपे, ‘युद्धविराम वा सैन्य कारबाही अन्त्यबारे अहिलेसम्म कुनै सम्झौता भएको छैन। यद्यपि, इजरायली शासनले इरान समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्छ भने हाम्रो तर्फबाट पनि कुनै बदला लिने छैन।’
तर यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यसअघि ट्रम्पले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत इजरायल र इरानबीच युद्धविराम हुने घोषणा गरेका छन्।
ट्रम्पले पोस्टमा भनेका छन्, ‘यो एक युद्ध हो जुन वर्षौंसम्म चल्न सक्थ्यो र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्थ्यो, तर अब यो हुनेछैन।’
अमेरिकी राष्ट्रपतिले इजरायल-इरान द्वन्द्वलाई '१२ दिने युद्ध' पनि भनेका छन्।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसलाई बताएअनुसार इजरायल र इरान दुवै युद्धविराम गर्न सहमत भएका छन्।
सीबीएसको रिपोर्टअनुसार, ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग प्रत्यक्ष वार्ता गरेका छन् र इरानले आक्रमण नगरेसम्म उनले युद्धविराम कायम राख्ने कुरामा सहमति जनाएका छन्।
सीबीएसका अनुसार, वरिष्ठ इरानी अधिकारीहरूले पनि इरान युद्धविराममा सहमत भएको पुष्टि गरेका छन्।
Shares

प्रतिक्रिया