ग्लोबल


कहाँ छ इरानको ४०८ किलो युरेनियम? खोज्दै छन् अमेरिका र इजरायल

कहाँ छ इरानको ४०८ किलो युरेनियम? खोज्दै छन् अमेरिका र इजरायल

नेपालखबर
असार ९, २०८२ सोमबार २१:२८,

अमेरिका र इजरायलले इरानका आणविक केन्द्रहरूमा बमबारी गरेर तिनलाई नष्ट गर्ने कोसिस गरेका छन्। तर, के यसले इरानको आणविक कार्यक्रम समाप्त भयो त?

यो प्रश्नको जवाफ इरानले प्रशोधन गरेको ४०८ किलो युरेनियममा निर्भर छ। इरानले यति युरेनियम ६० प्रतिशत शुद्ध हुनेगरी प्रशोधन गरिसकेको छ। आणविक हतियार बनाउनका लागि युरेनियममा ९० प्रतिशत शुद्धता आवश्यक पर्छ।

अमेरिकी ब-२ विमानले इरानका मुख्य आणविक केन्द्रहरूमा झण्डै १४ हजार किलोका करिब एक दर्जन बम खसाएपछि डोनाल्ड ट्रम्पले ती केन्द्रहरूको नामोनिसान पूर्ण रूपमा मेटिएको दाबी गरे।

इरानले उच्च प्रशोधित युरेनियम उत्पादन गर्न उपयोग गरिरहेको नातान्ज र फोर्डोजस्ता केन्द्रमा गम्भीर क्षति पुगेकोमा कुनै सन्देह छैन। इस्फहान नामक केन्द्रलाई उसले भण्डारण र इन्धनको काम गरिरहेको थियो। सो स्थानमा तोमाहक क्षेप्यास्त्र प्रहार गरिएको छ।

तर, इरानको आणविक कार्यक्रम ध्वस्त भयो कि तिनलाई अझै ससाना र खोज्न पनि मुस्किल हुने गुप्त केन्द्रहरूमा सारिएको छ, स्पष्ट छैन।

‘यो कुरा त्यही युरेनियम कहाँ छ भन्नेमा भर पर्छ,’ ओबामा र बाइडेनको पालामा इरान मामिलामा काम गरेको पूर्वअमेरिकी अधिकारी रिचर्ड नेफ्यु भन्छन्, ‘यतिबेला त्यो कहाँ छ, हामीलाई थाहा छैन। तुरुन्त त्यसबारे जानकारी प्राप्त होला भन्ने विश्वास पनि छैन। त्यसैले आणविक कार्यक्रममा केही महिनाले भन्दा ज्यादा ढिलाइ भयो भन्नु मूर्खतापूर्ण हुनेछ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रशोधित युरेनियमको अवस्था पत्ता लगाउन कयौँ दिन लाग्ने बताए।

‘उनीहरूले सारे भन्नेमा मलाई शंका छ। किनकि उनीहरूले सार्नै सक्दैनन। ट्रक त्यहाँबाट हिँड्नेबित्तिकै इजरायलीहरूले देखिहाल्छन् र उनीहरूले निसाना लगाइहाल्छन्,’ उनले भनेका छन्।

तर, युरेनियम सोही स्थानमा छाड्नु मूर्खतापूर्ण हुने इरानी अधिकारीहरूको भनाइ छ। 

‘प्रशोधित युरेनियम कसैले छुन सकेको छैन,’ इरानी शासनका एक अधिकारीको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

विश्लेषकहरू इरानले गुप्त रूपमा बम निर्माणलाई तीव्रता दिन सक्ने बताउँछन्।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सल्लाहकार अली शाम्खानीले मुलुकको आणविक क्षमता कायम रहेको दाबी गरेका छन्। 

‘इरानको आणविक केन्द्रहरू ध्वस्त भए पनि खेल सकिएको छैन,’ उनले एक्समा लेखेका छन्, ‘प्रशोधित पदार्थ, स्वआर्जित ज्ञान र राजनीतिक इच्छाशक्ति बाँकी रहनेछ।’

शाम्खानी गत साता इजरायलको पहिलो चरणको आक्रमणमा घाइते भएका थिए। 

नेफ्युका अनुसार प्रशोधित युरेनियम नातान्ज, फोर्ड र इस्फहानमा राख्ने गरिएको थियो। प्रशोधनपछि चिस्याएर युरेनियमलाई धुलोका रूपमा ठुल्ठूला सिलिन्डरमा भरेर राखिन्छ। 

इरानसँग कम प्रशोधितसहित जम्मा ८ हजार ४०० किलो युरेनियम छ। त्यसमध्ये ६० प्रतिशत प्रशोधन गरिएको ४ सय किलो छ। यसको अर्थ अर्थ के हो भने इरानले चाहेको खण्डमा केही दिनमै कयौँ आणविक बमका लागि आवश्यक पर्ने पदार्थ उत्पादन गर्न सक्छ।

तर, आणविक बम नै तयार पार्न भने महिनौँ वा वर्ष दिन पनि लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ।

इरानको आणविक कार्यक्रमलाई नष्ट गर्ने बहानामा इजरायलले आक्रमण सुरु गरेपछि तेहरानले सो युरेनियम गोप्य ठाउँमा सारेको हुनसक्ने नेफ्यु बताउँछन्। 

‘यदि नयाँ ठाउँमा आवश्यक उपकरण जडान गरेको भए अथवा फोर्डोमै आक्रमण हुनुअघि गोप्य रूपमा ९० प्रतिशतसम्म प्रशोधन गरेको भए त्यसयता उनीहरूसँग ८ वा ९ दिनको समय थियो। त्यो भनेको दुईवटा बमका लागि युरेनियम प्रशोधन गर्न पुग्ने समय हो,’ उनी भन्छन्।

भारत, पाकिस्तान र उत्तर कोरियाले पनि निगरानी र अमेरिकी प्रतिबन्धका बाबजुद गोप्य रूपमै आणविक कार्यक्रम विकास गरेका हुन्।

इजरायली जासुसी संस्था मोसादकी पूर्व इरान विज्ञ सिमा साइन तेहरानले प्रशोधित युरेनियम सारेकोमा आफूर्ण विश्वस्त रहेको बताइन्।

‘अमेरिकाले जे भने पनि उनीहरूको आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको छैन,’ उनी भन्छिन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad