ग्लोबल


अमेरिकाले इरानमा आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघको चिन्ता: विश्वलाई नै ठूलो क्षति पुर्‍याउन सक्छ

अमेरिकाले इरानमा आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघको चिन्ता: विश्वलाई नै ठूलो क्षति पुर्‍याउन सक्छ

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस


नेपालखबर
असार ८, २०८२ आइतबार ९:६, काठमाडौँ

अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। 

अमेरिकाले गएराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन्। 

उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु। यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ।’

उनले अगाडि लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ। यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्‍याउन सक्छ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन्।

उनले थप लेखेका छन्, ‘यस संकटको कुनै सैन्य समाधान छैन। कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो र शान्ति नै एक मात्र आशा हो।’

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो। इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  

इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ। 

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad