मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन भनेर मेघालय पुगेका राजा रघुवंशी आफ्नै नवविवाहित पत्नी सोनमबाट मारिएको घटनाले यतिबेला भारतमा सनसनी मच्चाएको छ।
हत्यामा संलग्न आरोपमा सोनम र उनका प्रेमी राज कुशवाहासहित ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
आखिर हनिमुन मनाउने क्रममा सोनमले आफ्नै पति किन मारिन् त? यो प्रश्न यतिखेर सबैको मनमा उत्पन्न भएको छ।
यसैबीच सोनमले आफ्नो विवाह गरिए नतिजा नराम्रो हुने भनेर पहिले नै आफ्नी आमालाई चेतावनी दिएको खुलासा भएको छ।
मृतक राजा रघुवंशीका दाइ विपिनले भारतीय सञ्चारमाध्यम ‘आज तक’सँगको विशेष कुराकानीमा सोनमको प्रेम सम्बन्धबारे उनकी आमा पहिले जानकार रहेको तर पनि लुकाएर आफ्ना भाइसँग बिहे गराइदिएको दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘यदि सोनमका बुबालाई यो कुरा थाहा भएको भए उनले राज कुशवाहा (सोनमको प्रेमी) लाई जागिरबाट निकाल्ने थिए, त्यसैले सोनमकी आमाले सबै कुरा लुकाइन्।’
विपिनले यस विषयमा सोनमकी आमालाई सोधपुछ गर्नसमेत माग गरेका छन्।
विपिनले आफूहरूको विवाह भएको ३ दिनपछि उनीहरू अर्को विवाहमा सहभागी भएको र त्यस क्रममा राजाले आफ्नो परिवारसँग सोनम आफूसँग कुरा नगरेको र कुनामा मोबाइलमा व्यस्त रहेको गुनासो गरेको बताएका छन्।
उनले भनेका छन्, ‘तर परिवारले उनलाई यो नयाँ विवाह हो र समयसँगै सबै कुरा ठिक हुन्छ भनेर सम्झाए।’
विपिनका अनुसार, सोनमले राजालाई मारेर विधवा भएपछि प्रेमी राजसँग विवाह गर्ने योजना बनाएको दाबी गरेका छन्।
तर उनको दाबीबारे प्रहरीले अनुसन्धान सुरु गरेको आजतकले जनाएको छ।

यसबीच कतिपय भारतीय सञ्चारमाध्यमले पतिको हत्यापछि सोनम नेपाल भाग्न चाहन्थिन् भनेर पनि समाचार लेखेका छन्।
गत मे ११ मा विवाह गरेका राजा र सोनम हनिमुन मनाउन भनेर मे २० का दिन इन्दौरस्थित घरबाट मेघालय प्रस्थान गरेका थिए।
तर मे २३ देखि उनीहरू एकाएक परिवारसँग सम्पर्कविहीन भए।
प्रहरीलाई खबर भएपछि खोजीका क्रममा जुन २ तारिखका दिन २९ वर्षीय राजा रघुवंशी मेघालयस्थित पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिए। तर सोनम बेपत्ता थिइन्।
तर अन्तत: उनी १७ दिनपछि सोमबार उत्तर प्रदेशको गाजीपुरमा फेला परिन्। प्रेमीसँग मिलेर भाडाका मान्छे लगाएर पतिको हत्या गराएको आरोपमा यतिबेला उनी प्रहरीको हिरासतमा छिन्।
हत्या आरोपमा प्रहरीले उनीसँगै उनका प्रेमी भनिएका राजा कुशवाहा, विक्की ठाकुर, आनन्द र आकाशलाई पनि गिरफ्तार गरेको छ।
Shares

प्रतिक्रिया