ग्लोबल


सेनाले राजीनामा दिन भनेपछि रिसाउँदै हसिनाले भनेकी थिइन्: ‘बरु मलाई गोली हान, यहीँ गाड’

सेनाले राजीनामा दिन भनेपछि रिसाउँदै हसिनाले भनेकी थिइन्: ‘बरु मलाई गोली हान, यहीँ गाड’

शेख हसिनाको फाइल तस्बिर र पृष्ठभूमिमा बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी


नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:४९, काठमाडौँ

बंगलादेशबाट भाग्नुअघि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सैन्य अधिकारीहरूसँग बरु आफूलाई गोली हानेर मार तर राजीनामा दिन्नँ भनेको खुलासा भएको छ।

सरकारी जागिरमा आरक्षणविरुद्ध उर्लिएको विद्यार्थी आन्दोलन उग्र बनेपछि हसिना २०२४ अगस्ट ५ का दिन देश छाडेर भाग्न बाध्य भइन्। त्यसबेलादेखि उनी भारतको शरणमा छिन्। 

तर उनीविरुद्ध त्यसबेला भए/गरेका विभिन्न घटनामा बंगलादेशको अन्तरिम सरकारले मुद्दा चलाइरहेको छ।

यसै क्रममा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा हसिनाविरुद्धको मुद्दा सुनुवाइ सुरु भएको छ।

सोही क्रममा प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले बंगलादेशको प्रधानमन्त्री निवासमा शेख हसिनाको अन्तिम समयमा भएका कुरा खुलासा गरेका हुन्। 

उनका अनुसार गत वर्ष अगस्ट ५ मा देश छाड्नुअघि तत्कालीन प्रधानमन्त्री हसिना र सैन्य अधिकारीहरूबीच चर्को बहस भएको थियो।

विद्यार्थीको आन्दोलन हिंसात्मक बनेपछि उनलाई सैनिक अधिकारीहरूले राजीनामा दिन सुझाव दिए। 

तर राजीनामा नदिने अडानका साथ रिसाउँदै हसिनाले भनिन्, 'मलाई गोली हान र मलाई यही गण भवनमा गाड।'

यो कुरा बंगलादेशी मिडिया आउटलेट प्रथम आलोको रिपोर्टमा उल्लेख छ। 

सुनुवाइका क्रममा ताजुल इस्लामले भने, ‘अगस्ट ४-५ को राति १२.१५ बजे सशस्त्र सेना प्रमुखहरूको बैठक बसेको थियो। जसमा तत्कालीन रक्षा सल्लाहकार मेजर जनरल तारिक अहमद सिद्दीकी (सेवानिवृत्त) ले शेख हसीनाको राजीनामाको कुरा उठाए। यस क्रममा हसिना रिसाइन् र राजीनामा दिन अस्वीकार गरिन्। बरु उनले सेना प्रमुखलाई विरोध प्रदर्शन दबाउन आदेश दिइन्। सिद्दीकीले सेनालाई प्रदर्शनकारीहरूलाई गोली हान्न सुझाव दिइन्।’

तर कुनै सिप नलागेपछि हसिना त्यही दिन बंगलादेशी सेनाको विमान चढेर भारत भाग्न बाध्य भएकी थिइन्।

शेख हसिना भागेको केही समयपछि नै प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरे र तोडफोड गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad