विश्वमै दुर्लभ र अति विषालु प्रजातिको मानिने ‘स्पिटिङ कोब्रा’ सर्प विराटनगरमा भेटिएको छ।
विराटनगर महानगरपालिका-४ स्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा परैबाट विष फाल्ने क्षमता भएको ‘स्पिटिङ कोब्रा’ भेटिएको हो।
मंगलबार शर्माको निवासमा फेला परेको यो सर्पलाई जिल्ला वन कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।
सर्पलाई उद्धार गर्ने क्रममा यसले फालेको विष उद्धारकर्ता शम्भु घिमिरेको शरीरमासमेत परेको थियो।
सर्पको विष परेपछि घिमिरेलाई कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।
नेपालमा विरलै मात्र देखिने ‘स्पिटिङ कोब्रा’ दक्षिण एसियाली क्षेत्रमा पाइने एक विशिष्ट प्रजातिको सर्प हो। यसले आफ्नो सिकार वा खतरा महशुस गरेपछि परैबाट विष थुकेर आक्रमण गर्ने विज्ञहरुको भनाई छ। वन तथा स्वास्थ्य निकायका अनुसार, यो प्रजाति विशेष गरी गर्मी मौसममा बाहिर निस्कन्छ।
यो सर्प विशेषगरी झाडी, बगैंचा, गोठ र घरको चिसो र अँध्यारो स्थानमा बस्ने गर्छ।
विराटनगरका अन्य स्थानमा पनि यस्ता सर्प फेला परे खबर गर्न विराटनगरमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना जारी गरेको छ।
Shares

प्रतिक्रिया