ग्लोबल


जम्मु-कश्मीरमा बबन्डर

जम्मु-कश्मीरमा बबन्डर

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ६:१४, काठमाडौँ

भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। यी आक्रमणलाई विफल पारिएको छ। कुनै पनि जनधनको क्षति भएको छैन। भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ।’

भारतका अनुसार पाकिस्तानले हानेका सबै क्षेप्यास्त्र वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको हो।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मु कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेका छन्।

ख्वाजा आसिफले भनेका छन्, ‘हामी यसलाई अस्वीकार गर्छौं, हामीले अहिलेसम्म केही गरेका छैनौँ। जब पाकिस्तानले आक्रमण गर्छ, तब सबैलाई थाहा हुनेछ।’

जम्मु कश्मीरमा विस्फोट र ब्ल्याकआउटको रिपोर्ट आएको केही समयपछि ख्वाजा आसिफ बीबीसी हिन्दीसँग कुरा गरिरहेका थिए।

श्रीनगरमा रहेका बीबीसी हिन्दीका संवाददाता मजिद जहाँगिरका अनुसार बिहीबार राति ११ बजेतिर उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र सीमानजिकैका नागरिक क्षेत्रलाई निशाना बनाइएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका विदेशमन्त्री एस. जयशंकरसँग फोनमा कुराकानी गरी तनाव कम गर्न अपिल गरेका छन्।

बीबीसी हिन्दीका अनुसार हाल जम्मू कश्मीरको राजौरीमा रहेकी संवाददाता दिव्या आर्यले त्यहाँ पूर्ण रूपमा ब्ल्याकआउट भएको बताएकी छन्।

धेरै राज्यमा स्कुल र कलेज बन्द 
बिहीबार राति ८:४५ बजे जम्मु सहरबाट हवाई आक्रमणको जानकारी आउन थाल्यो। यसपछि जम्मु, राजौरी, चण्डीगढ, अमृतसर, धर्मशालालगायत धेरै शहरमा ब्ल्याकआउटको घोषणा गरियो।

समाचार एजेन्सी पीटीआईका अनुसार धेरै सीमावर्ती राज्यहरूले ब्ल्याकआउट आदेश जारी गरेका छन् र शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। साथै प्रहरी र प्रशासनिक अधिकारीहरूको बिदा पनि रद्द गरिएको छ।

जम्मु कश्मीरमा स्कुल र कलेजसहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पन्जाबका शिक्षामन्त्री हरजोत सिंह बैंसले सरकारले आगामी तीन दिनका लागि राज्यका स्कुल, कलेज र विश्वविद्यालय बन्द गर्न आदेश जारी गरेको बताएका छन्।

राजस्थानको श्रीगंगानगर प्रहरीले रेड अलर्ट जारी गरेको छ र सबैलाई घरमै बस्न निर्देशन दिएको छ।

पन्जाब, हरियाणा, राजस्थान, दिल्ली, गुजरात, पश्चिम बंगाल र बिहारमा कडा नियम लागु गरिएको छ।

यस्तै चण्डीगढ प्रशासनले हवाई आक्रमणको साइरन सक्रिय पारिएको र ब्ल्याकआउट लागु गरिएको बताएको छ।

यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ।

धर्मशालामा हुने भनिएको पन्जाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच खेल रद्द गरिएको छ।

लुधियानाका डीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्धकार हुनेछ, घर भित्रै बस्नुहोस् र झ्यालहरू बन्द गर्नुहोस्। आत्तिनु पर्दैन... नक्कली समाचार, भिडिओ र सन्देशबाट सावधान रहनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad