बंगलादेशका पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष खालिदा जिया लन्डनमा चार महिनाको उपचारपछि स्वदेश फर्किएकी छन्।
उनी मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन्।
खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छन्। उनकी बुहारी लगभग १७ वर्षपछि बंगलादेश आएकी हुन्।
उनीसँग तीन जना निजी डाक्टर पनि थिए।
उनलाई स्वागत गर्न बिएनपीका नेता तथा कार्यकर्ताहरू विमानस्थलनजिकै ब्यानर, पोस्टर र झण्डा बोकेर उभिएका थिए।
खालिदा जिया जनवरी ८ मा उपचारका लागि लन्डन गएकी थिइन्।
७९ वर्षीया खालिदा जिया कलेजो सिरोसिस, मिर्गौला समस्या र मुटु रोग जस्ता धेरै रोगबाट पीडित थिइन्। उनलाई उपचारका लागि लन्डनको एक क्लिनिकमा भर्ना गरिएको थियो।
गत वर्ष अगस्टमा विद्यार्थी आन्दोलनपछि बंगलादेशमा शेख हसिनाको सरकार ढल्यो। त्यसबेलादेखि बंगलादेशमा अन्तरिम सरकारले काम गरिरहेको छ। यस सरकारका प्रमुख मोहम्मद युनुस हुन्।
देशमा चुनाव गराउने र विजयी पार्टीलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी अन्तरिम सरकारको हो, तर धेरै विश्लेषकले चुनाव गराउने अन्तरिम सरकारको प्रतिबद्धतामा शंका व्यक्त गरिरहेका छन्।
मुहम्मद युनुसको अन्तरिम सरकारले चुनावका लागि अहिलेसम्म मिति घोषणा गरेको छैन।
अब खालिदा जिया बंगलादेश फर्किएपछि अन्तरिम सरकारलाई चुनाव गराउन दबाब पर्नेछ।
Shares

प्रतिक्रिया