भारतको विपक्षी दलले पहलगाम, जम्मु-कश्मीरमा भएको आतंकवादी हमलाका विषयमा छलफल गर्न संसद्का दुवै सदनमा विशेष अधिवेशन बोलाउन माग गरेको छ।
भारतीय लोकसभा (संसद्) मा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै विशेष अधिवेशनको माग गरेका हुन्।
पत्रमा गान्धीले लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाबाट हरेक भारतीय क्रोधित छन्। यो नाजुक समयमा भारतले देखाउनुपर्छ कि हामी आतंकवादविरुद्ध सधैँ एकजुट रहनेछौँ।’
उनले अगाडि लेखेका छन्, ‘विपक्षी दलको विश्वास छ- संसद्का दुवै सदनमा विशेष सत्र बोलाउनुपर्छ, जहाँ जनताका प्रतिनिधिले आफ्नो एकता र दृढता देखाउन सक्छन्।’
उनले जतिसक्दो चाँडो यो विशेष अधिवेशन बोलाउन अपिल गरेका छन्।
यही अप्रिल २२ तारिख जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला गरी एक नेपालीसमेत २६ जनाको हत्या गरिएको थियो।
पहलगाम हमलाबारे भारतीय सुरक्षा एजेन्सीहरूले अनुसन्धान गरिरहेका छन्।
Shares

प्रतिक्रिया