ग्लोबल


पहलगाम हमलामा ‘सनसनीपूर्ण खुलासा’

पहलगाम हमलामा ‘सनसनीपूर्ण खुलासा’

पहलगाम आक्रमणका दिन आत्तिएका पर्यटक


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १२:५, काठमाडौँ

२२ अप्रिल, २०२५ मा पहलगाम, जम्मु-कश्मीरमा २६ जना (कतिपय भारतीय सञ्चारमाध्यमले २८ जना पनि लेखिरहेका छन्) को ज्यान जाने गरी गरिएको भएको आतंकवादी हमलाबारे अनुसन्धान जारी छ। 

त्यसो त घटनालगत्तै आक्रमणको जिम्मेवारी आतंकवादी संगठन 'द रेजिस्टेन्स फ्रन्ट' (टीआरएफ) ले लिएको भनेर भारतीय सञ्चारमाध्यमले उल्लेख गरिरहेका छन्। टीआरएफ लश्कर-ए-तैयबाको मोर्चा मानिन्छ।

यसैबीच अनुसन्धानले यस विषयमा अर्को ‘सनसनीपूर्ण खुलासा’ गरेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। 

न्युजफोरनेसनका अनुसार अनुसन्धान एजेन्सीहरूले पाकिस्तानी सेनाको विशेष सेवा समूह (एसएसजी) का पूर्वकमान्डर हाशिम मुसा भनेर चिनिने आसिफ फौजी पहलगाम हमलाका प्रमुख षड्यन्त्रकारी रहेको दाबी गरेका हुन्। 

अनुसन्धान एजेन्सीहरूले आक्रमणमा मुसासहित सुलेमान शाह (उर्फ युनुस) र अबु तलहा (उर्फ आसिफ) पनि संलग्न रहेको पत्ता लागेको बताएका छन्। 

वास्तविक नाम आसिफ फौजी रहेका मुसा लश्कर-ए-तैयबासँग मिलेर काम गरिरहेका थिए।

हाशिम मुसा।

गुप्तचर स्रोतका अनुसार मुसाले पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) बाट आक्रमणको योजना बनाएका थिए र आफ्ना पाकिस्तानी ह्यान्डलरहरूको निर्देशनमा यसलाई कार्यान्वयन गरेका थिए।

अनुसन्धानबाट पहलगाम आक्रमणको योजना पीओकेको रावलकोटमा बनाइएको र यसका मास्टरमाइन्ड लश्कर-ए-तैयबाका कमान्डर सैफुल्लाह कसुरी रहेको पत्ता लागेको दाबी गरिएको छ। 

पहलगाम आक्रमण अचानक भएको घटना नभई महिनौँको योजना भएको दाबी पनि अनुसन्धान एजेन्सीले गरेका छन्। 

हमलामा मुसासँगै अनन्तनागका आदिल हुसैन ठोकरको नाम पनि प्रमुख रूपमा जोडिएको दाबी छ। बिजबेहराका आदिल सन् २०१८ मा विद्यार्थी भिसामा पाकिस्तान गएका थिए। त्यहाँ उनी लश्कर-ए-तैयबाको सम्पर्कमा आए र आतंकवादी तालिम लिए। उनी २०२४ मा भारत फर्किए र मुसासँग मिलेर पहलगाम आक्रमण गर्ने षड्यन्त्र रचे। आदिलले मुसा र अन्य आतंककारीलाई लुक्ने ठाउँ र आक्रमणका लागि लजिस्टिक सहयोग उपलब्ध गराएको दाबी गरिएको छ। हाल उनी फरार रहेकाले  सुरक्षा निकायले खोजी गरिरहेको समाचारमा उल्लेख छ। 

पहलगाम हमलामा पाकिस्तानी सेना र यसको खुफिया एजेन्सी आईएसआईको भूमिका पनि प्रश्नको घेरामा छ। जम्मु-कश्मीरका पूर्वडीजीपी एसपी वैदले आक्रमणलाई "पुलवामा २" भनेका छन् र सिधै पाकिस्तानी सेनालाई दोष दिएका छन्। उनले आक्रमणकारीमा पाकिस्तानी एसएसजी कमान्डर रहेको दाबी पनि गरे।

पूर्वपाकिस्तानी सैनिक आदिल रजाले पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको आदेशमा हमला भएको दाबी गरेका छन्। रजाले एक्समा लेखेका, पाकिस्तानी गुप्तचर विभागका स्रोतहरूले यसको पुष्टि गरेका छन्, तर पाकिस्तानी जनतालाई यसबारे कुनै जानकारी छैन।

पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारती सरकारले सिन्धु जल सन्धि निलम्बन गरेको छ भने अटारी-वाघा सीमा बन्द गराएको छ। साथै पाकिस्तानी उच्चायोगका अधिकारीहरूलाई देशबाट निकालेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी र तिनका समर्थकलाई कडा सजाय दिइने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad