भारतका गृहमन्त्री अमित शाहले शुक्रबार सबै राज्यका मुख्यमन्त्रीहरूलाई बोलाएर आफ्ना राज्यमा रहेका पाकिस्तानी नागरिकलाई देश निकाला गर्न निर्देशन दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाहले शुक्रबार दिउँसो सबै राज्यका मुख्यमन्त्रीहरूसँग बैठक गरी आआफ्ना राज्यमा रहेका पाकिस्तानीहरूलाई चाँडोभन्दा चाँडो आफ्नै देशमा फर्काइदिन निर्देशन दिएका हुन्।
यसैबीच जम्मु-कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको तीन दिनपछि भारतीय सेनाले ठूलो कारबाही गरेको छ।
जम्मु-कश्मीरका त्राल र अनन्तनागको बिजबेहरामा २ घरमा खानतलासी गर्दा विस्फोटक पदार्थ पाइएको र त्यो पड्किएको बताइएको छ।
जसका कारण आसिफ शेख र आदिल थोकरको घर पूर्ण रूपमा ध्वस्त भएको दैनिक भास्करले जनाएको छ। उनीहरू लश्कर आतंककारी भएको दाबी भारतले गरेको छ।
अभियानका क्रममा सेनाले बान्दीपोरामा भएको मुठभेडमा सुरक्षा बलले एक ´आतंककारी`लाई मारेको पनि समाचारमा उल्लेख छ। यस क्रममा दुई सैनिक घाइते भएका छन्।
अप्रिल २२ दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २६ जना मारिएका थिए। जसमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिए।
पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। जसले संयुक्त राष्ट्रसंघलाई समेत चिन्तित बनाएको छ।
यसैबीच पाकिस्तानी रेन्जर्स (अर्धसैनिक बल) ले पन्जाब सीमामा खटिएका भारतीय बीएसएफ (सीमा सुरक्षा बल) जवान पूर्णमकुमार (पीके) सावलाई नियन्त्रणमा लिएको खबर पनि सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया