ग्लोबल


दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुन्न जुन ३ मा चुनाव

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चुन्न जुन ३ मा चुनाव

फाइल तस्बिर: दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सु


नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:२०, काठमाडौँ

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुले मंगलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन्।

दक्षिण कोरियाको संवैधानिक अदालतले यही चैत २२ गते राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि चुनावको मिति घोषणा गरिएको हो। 

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गर्ने असफल प्रयास गरेपछि दक्षिण कोरियाली संसद्‌ले लगाएको महाभियोग अदालतले सदर गरेको हो।

राष्ट्रपति पदबाट हटाइएपछि दक्षिण कोरियाको प्रावधानअनुसार त्यसको ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने मार्ग खुलेको हो।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक सुले बताएका छन्।

यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए। 

फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ सुनाउँदै उनले मतदान सहज बनाउन त्यस दिन सार्वजनिक बिदा दिइने जानकारी पनि दिए।

हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरेका छन्। 

नियमित निर्वाचनमा राष्ट्रपति निर्वाचित व्यक्तिलाई दुई महिनाको संक्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन्।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन्। संवैधानिक अदालतले उनीविरुद्धको महाभियोग भने खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका हुन्। 

राष्ट्रपति निर्वाचनको आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

विपक्षी नेता ली जे म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा छन्। पछिल्लो ग्यालप सर्वेक्षणअनुसार उनको समर्थन दर ३४ प्रतिशत छ। 

उनको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ। 

सन् २०२२ को राष्ट्रपति चुनावमा उनी युनसँग थोरै मतले हारे तर चलिरहेको मुद्दासहित कानुनी समस्याले छायामा पारेको करिअरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गरे। 

दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु छन्। 

नौ प्रतिशत मत पाउँदै उनले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै छन्। यसमा पूर्वपार्टी प्रमुख हान डोङ हुन पनि समावेश छन्। 

लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष रूपमा टेलिभिजनमा हेरेका थिए।

युन सन् २०१७ मा पार्क ग्युन हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad