ग्लोबल


ट्रम्पको भन्सार वृद्धिले जापानमा ‘राष्ट्रिय संकट’

ट्रम्पको भन्सार वृद्धिले जापानमा ‘राष्ट्रिय संकट’

जापानका प्रधानमन्त्री शिगेरु इशिबा र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
चैत २२, २०८१ शुक्रबार १३:४१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको भन्सार शुल्कले ‘राष्ट्रिय संकट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन्।

संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन्। 

बिहीबार विश्वव्यापी रूपमा लागू गरिएको करको एक भागका रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमा पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्नेछ। 

इशिबाले संसद्‌मा भने, ‘यो कदमले जापानलाई आर्थिक रूपमा ‘राष्ट्रिय संकट’ निम्त्याउनसक्ने हुँदा सरकारले सबै पक्षसँग मिलेर यसको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेको छ।’

उनले ट्रम्प प्रशासनसँग वार्ताका लागि ‘शान्त–नेतृत्वदायी’ दृष्टिकोणका लागि आह्वान गरे। अमेरिकाले यसै हप्ता लागू भएको जापानी कार आयातमा २५ प्रतिशत कर पनि लगाएको छ।

बैंक अफ जापानका गभर्नर काजुओ उएदाले भने, ‘करले विश्व र राष्ट्रिय अर्थतन्त्रमा गिरावटको दबाब निम्त्याउन सक्छ।’

सरकारका प्रवक्ता योशिमासा हयाशीले बिहीबार आफ्ना मन्त्रीहरूलाई करको ‘नजिकबाट अध्ययन गर्न’ र घरेलु उद्योगका लागि वित्तीय सहयोग र रोजगारीको सुरक्षासहित आवश्यक सबै कदम चाल्न निर्देशन दिएको बताए। 

असाही शिम्बुन दैनिकका अनुसार इशिबाले शुक्रबार पार्टी नेताहरूसँग गरेको भेटको उद्देश्य पूरक बजेट विधेयकको आधार तयार पार्नु थियो। उनको अल्पमतको सरकारलाई संसद्ंमा कुनै पनि विधेयक पारित गर्न विपक्षीहरूको समर्थन आवश्यक छ।

शुक्रबार हयाशीले ट्रम्पको नयाँ कर ‘अत्यन्त खेदजनक’ भएको र विश्व व्यापार संगठनको नियम र अमेरिका–जापान व्यापार सम्झौताको पालना गर्ने वा नगर्नेबारे जापानको ‘गम्भीर चिन्ता’ रहेको बताएका थिए।

जापान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (जेसीसीआई) ले ट्रम्पको करवृद्धिले जापानी अर्थतन्त्रमा गम्भीर असर पार्ने बताएको छ।

जेसीसीआईले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी सरकारलाई कर छुटका लागि निरन्तर वार्ता जारी राख्न र एक विस्तृत परामर्श प्रणाली विकास गरेर र नगद व्यवस्थापन समर्थनलाई सुदृढ गरेर साना तथा मझौला उद्यम र साना व्यवसायमा पर्ने असरलाई कम गर्न सबै सम्भावित उपायहरू अवलम्बन गर्न जोडदार आग्रह गर्द छौँ।’

जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएन (जामा) ले पनि विश्वको चौथो ठूलो अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेका आफ्ना सदस्यका लागि सरकारी सहयोगका लागि आह्वान गरेको छ। 

उनले थपे, ‘उद्योगले ‘सवारी साधन (कार) सम्बन्धित करको बोझलाई सरल र कम गर्न आधारभूत सुधारको लागि निरन्तर आह्वान गरेको छ, र हामी कृपया जापानको अटोमोटिभ उद्योगले घरेलु बजारको पुनरुत्थानको माध्यमबाट विनिर्माण आधारका रूपमा आफ्नो आधार कायम राख्न सक्ने सुनिश्चित गर्न व्यापक समर्थन उपायहरूको लागि अनुरोध गर्द छौँ।’

जामाका अनुसार यसका सदस्यले सन् २०२४ सम्ममा अमेरिकी उत्पादनमा ६६ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्, जसले एक लाख १० हजारभन्दा बढी प्रत्यक्ष अमेरिकी रोजगारी सिर्जना गरेको छ भने २२ लाखभन्दा बढीलाई सहयोग गरेको छ।

‘हामीले लामो समयदेखि विश्वास गर्दै आएका छौँ कि स्थानीय लगानी र रोजगारी सिर्जनामार्फत अमेरिकी अटो उद्योगको अभिन्न अंग बन्नु दुवै देशका कार उद्योगका लागि सबैभन्दा दिगो मार्ग हो,’ विज्ञप्तिमा भनिएको छ।

ब्लुमबर्ग न्युजका अनुसार जापानी कार निर्माताहरूले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग १४ लाख ५० हजार कारहरू ढुवानी गर्छन्।

जापानले करिब १५ लाख कार सीधै संयुक्त राज्य अमेरिकामा निर्यात गर्छ। जापानी अटोमेकरहरूले अमेरिकामा ३३ लाख कार उत्पादन गर्छन्।

जापानमा अटो क्षेत्र एक प्रमुख उद्योग हो, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसहरूलाई रोजगारी दिन्छ।

जापानले गत वर्ष अमेरिका निर्यात गरेको २१.३ ट्रिलियन येन (१४२ अर्ब अमेरिकी डलर) को करिब २८ प्रतिशत हिस्सा सवारीसाधनले ओगटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad