नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको नयाँ नेता र प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ।
पार्टीले सोमबार आफ्नो घोषणामा कार्नीले वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ।
लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा ब्रिटिस र क्यानेडियन केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीको विजय घोषणा गरे।
क्यानडाले धेरै कुरामा संकट सामना गरिरहेका बेला मार्क कार्नीले देशको जिम्मेवारी सम्हाल्दै छन्।
क्यानडाले सामना गरिरहेको सबैभन्दा ठूलो संकट अमेरिकाबाट हो, जसका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ५१औँ राज्य बनाउन चाहेको बताइरहेका छन् भने क्यानडाविरुद्ध २५ प्रतिशत आयात शुल्क लगाउने घोषणासमेत गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतृत्व प्रतिस्पर्धामा कार्नीले कुल १३१,६७४ मत प्राप्त गरे जुन कुल मतको लगभग ८५.९ प्रतिशत हो।
उनले पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्ड र पूर्वसरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद सदस्य फ्र्याङ्क बेलिसलाई पछि पारे। क्रिस्टिया फ्रिल्यान्डले ११,१३४, करिना गोल्डले ४,७८५ र फ्र्याङ्क बेलिसले ४,०३८ मत प्राप्त गरे।
Thank you to all of our amazing candidates for an incredible race that brought Liberals across the country together. pic.twitter.com/uPuTxv2vyz
— Liberal Party (@liberal_party) March 9, 2025
५९ वर्षीय कार्नीले अब प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन्। ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेका थिए। यद्यपि कार्नीले शपथ नखाँदासम्म ट्रुडो नै प्रधानमन्त्री रहनेछन्।
ट्रुडोले दिए पार्टी नेताबाट राजीनामा
वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका छन्। उनले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
‘म लिबरल पार्टीको नेताका रूपमा उही आशा र कडा मेहनतका साथ छाड्दैछु जुन मैले सुरु गर्दा गरेको थिएँ’, ट्रुडोले लेखेका छन्, ‘यो पार्टी र देशप्रति मलाई आशा छ- किनकि लाखौँ क्यानेडियालीले हरेक दिन प्रमाणित गर्छन् कि राम्रो सधैँ सम्भव छ।’
को हुन् कार्नी?
मार्क कार्नीको जन्म मार्च १६, १९६५ मा क्यानडाको उत्तर-पश्चिममा रहेको फोर्ट स्मिथमा भएको थियो। यद्यपि उनको सुरुवाती जीवन अल्बर्टाको एडमन्टनमा बित्यो। मार्कका आमाबाबु दुवै स्कुल शिक्षक थिए।
त्यसैले सुरुदेखि नै उनको पढाइ धेरै राम्रो थियो। कार्नीले आफ्ना आमाबाबुले आफूलाई सार्वजनिक सेवाप्रति प्रतिबद्धता जगाएको बताएका छन्। मार्क कार्नीले २००४ मा क्यानाडाली वित्त विभागमा पनि काम गरे। अर्थशास्त्रको क्षेत्रमा प्रतिभा देखाएपछि उनलाई २००७ मा बैंक अफ क्यानडाको गभर्नर बनाइएको थियो।
Shares

प्रतिक्रिया