ग्लोबल


ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की, भएन सहमति

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की, भएन सहमति

शुक्रबार ह्वाइट हाउसमा बहस गर्दै जेलेन्स्की र ट्रम्प। तस्बिर : बीबीसी


नेपालखबर
फागुन १७, २०८१ शनिबार ८:२८, काठमाडौँ

शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा चर्काचर्की परेको छ। 

बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए।

यस क्रममा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।

ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए।

यसैबीच जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

ओभल अफिसबाट जारी गरिएको भिडिओमा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ।

ट्रम्प र जेलेन्स्कीबीच बहस भइरहँदा राजदूत अत्यन्तै तनावग्रस्त देखिएकी छन्। 

युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए। 

तर दुई जनाबीच चर्काचर्की परेसँगै उक्त सम्झौता अब असफल भएको छ।

दुई नेताबीचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो।

बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन्।

ट्रम्पले भनेका छन्, ‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।’

ट्रम्पले जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप पनि लगाएका छन्।

उनले अगाडि भनेका छन्, ‘यदि उनी शान्ति चाहन्छन् भने फेरि फर्केर यहाँ आउन सक्छन्।’

हेर्नुहोस् ट्रम्प-जेलेन्स्की चर्काचर्कीको भिडिओ फुटेज-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad