ग्लोबल


ट्रम्प-जेलेन्स्की चर्काचर्कीले विश्वभर तरंग, कसले के भने?

ट्रम्प-जेलेन्स्की चर्काचर्कीले विश्वभर तरंग, कसले के भने?

नेपाली समयानुसार शुक्रबार साँझ ह्वाइट हाउसमा कुराकानी गर्दै जेलेन्स्की र ट्रम्प


नेपालखबर
फागुन १७, २०८१ शनिबार १०:८, काठमाडौँ

शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको वार्ताले अप्रत्याशित मोड लियो जब रुस-युक्रेन युद्धको प्रश्नमा दुई जनाबीच चर्को बहस सुरु भयो।

जेलेन्स्की र ट्रम्प बीचको यो भेटघाटलाई ठूलो आशाका साथ हेरिएको थियो। तर दुई जनाबीच वाकयुद्ध सुरु भयो र अमेरिकी राष्ट्रपतिले या त सम्झौता गर या छाड भने।

पत्रकारहरूको उपस्थितिमा दुई राष्ट्रपतिहरूबीच झगडा भयो र दुई देशहरूबीच कथित सम्झौता हुन सकेन। यो सम्झौताले रुस र युक्रेनबीच युद्धविरामको बाटो खोल्न सक्छ भन्ने विश्वास गरिएको थियो। तर विवादसँगै समाप्त भएको यो कुराकानीले अहिलेका लागि यो आशा निराशामा परिणत भएको छ।

यसअघि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की धेरै 'ठूलो सम्झौता' गर्न शुक्रबार अमेरिका आउँदै गरेको बताएका थिए। ट्रम्पको घोषणा हुनुभन्दा पहिले जेलेन्स्कीले पनि अमेरिकासँग खनिज सम्झौतामा सहमति जनाएका थिए।

विश्व नेताहरूले के भने?
ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्कीबारे विश्वभरका नेताहरूबाट प्रतिक्रिया आउन थालेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्, "रुसले युक्रेनमाथि गैरकानुनी र अन्यायपूर्ण रूपमा आक्रमण गरेको छ।"

ट्रुडोले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ। लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उसको लडाइँ सबैका लागि महत्त्वपूर्ण लडाइँ हो।’

ट्रुडोले क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने पनि बताएका छन्।

यस्तै पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘युक्रेनी साथीहरू, तपाईंहरू एक्लो हुनुहुन्न।’

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले लेखेका छन्, ‘युक्रेन स्पेन तिम्रो साथमा उभिएको छ।’

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले लेखेका छन्, ‘हामी युक्रेनका पक्षमा छौँ र यस द्वन्द्वमा दिगो शान्तिको पक्षमा छौँ।’

‘रुसको अवैध आक्रमणका लागि युक्रेनलाई दोष दिन सकिँदैन," आयरल्यान्डका उपप्रधानमन्त्री साइमन ह्यारिसले लेखेका छन्, हामी युक्रेनका साथमा छौँ।’

अमेरिकी नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनलाई दिएको अन्तर्वार्तामा वार्ता पूर्ण रूपमा असफल भएको र जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन्। 

उनले भनेका छन्, ‘उहाँले त्यहाँ गएर यस्तो विरोधाभासी अडान लिनु हुन्थेन।’

‘ट्रम्प र भान्सले गलत काम गरिरहेका छन्, ‘डेमोक्र्याटिक सिनेटर चक शुमरले एक्समा लेखेका छन्, ‘सिनेट डेमोक्र्याटहरूले स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल्यै छाड्ने छैनन्।’

‘अमेरिकी विदेश नीतिका लागि यो नराम्रो दिन हो’, रिपब्लिकन सांसद डन बेकनले एक्समा लेखेका छन्, ‘युक्रेन स्वतन्त्रता, स्वतन्त्र बजार र कानुनको शासन चाहन्छ। ऊ पश्चिमको एक हिस्सा बन्न चाहन्छ। रुसले हामी र हाम्रा पश्चिमी मूल्य-मान्यतालाई घृणा गर्छ। हामीले यो स्पष्ट पार्नु पर्छ कि हामी स्वतन्त्रताको पक्षमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad