दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई रुसको सन् २०२२ को आक्रमणबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न ‘समावेशी शान्ति प्रक्रिया’बारे छलफल गर्न चाँडै आमन्त्रण गर्ने बताएका छन्।
युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई आमन्त्रण नगरी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले गरेको वार्ताको कडा आलोचनाका बीच यो प्रस्ताव आएको हो।
‘म राष्ट्रपति जेलेन्स्कीसँग भएको रचनात्मक संवादलाई स्वागत गर्दछु र म उहाँलाई चाँडै राजकीय भ्रमणका लागि दक्षिण अफ्रिकामा स्वागत गर्न उत्सुक छु’, रामाफोसाले एक्समा भनेका छन्।
दुई नेताले ‘सबै पक्ष समावेश गर्ने समावेशी शान्ति प्रक्रियाको तत्काल आवश्यकता’मा सहमति जनाएको उनको भनाइ छ।
‘दक्षिण अफ्रिका रुस र युक्रेनबीचको संवाद प्रक्रियालाई समर्थन गर्न प्रतिबद्ध छ’, उनले भनेका छन्।
यसैबीच जेलेन्स्कीले ‘युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’लाई समर्थन गरेकामा रामाफोसालाई धन्यवाद दिएका छन् र यस वर्ष शान्ति स्थापना हुनेमा आशा व्यक्त गरेका छन्।
‘हाम्रा देशहरूले समान स्थिति साझा गर्छन् भन्ने महत्त्वपूर्ण छ, युक्रेनबिना युक्रेनबारे केही पनि हुँदैन। हामी सबैले यस वर्ष न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्ने आशा गर्दछौंँ। दक्षिण अफ्रिकाको आवाज महत्त्वपूर्ण छ र हामी यसको समर्थनमा भर पर्दछौँ’, उनले लेखेका छन्।
दक्षिण अफ्रिकाले रुस र युक्रेनबीचको युद्धमा तटस्थता देखाउन खोजेको भए पनि मस्कोतिर झुकेको आरोप लगाइएको छ।
रामफोसाले अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको प्रमुख उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा रुसलाई ‘मूल्यवान् मित्र र सहयोगी’ भनेर वर्णन गरेका थिए।
रामाफोसाले बिहीबार जोहानसबर्गमा समूह २० (जी-२०) का शीर्ष कूटनीतिज्ञहरूको बैठकको छेउमा रुसी विदेशमन्त्री सर्गेई लाभरोवसँग वार्ता गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रिटोरियालाई ‘अमेरिका विरोधी’ एजेन्डाको आरोप लगाएपछि दक्षिण अफ्रिकामा भएको दुई दिने बैठकमा भाग लिएनन्। रासस/एएफपी
Shares

प्रतिक्रिया