अमेरिका र रुसका विदेशमन्त्रीहरूबीच साउदी अरबमा वार्ता सुरु भएको छ। अमेरिकी टोलीको नेतृत्व विदेशमन्त्री मार्को रुबियो र रुसी टोलीको नेतृत्व विदेशमन्त्री सेर्गेइ लाभ्रोवले गरिरहेका छन्।
युक्रेन युद्ध अन्त्यका लागि उनीहरू वार्तामा बसेका हुन्। तर, वार्तामा युक्रेन र उसलाई सघाइरहेका युरोपेली मुलुकहरूलाई निम्त्याइएको छैन।
वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व विशेषदूत स्टिभ विट्कोफ पनि सहभागी छन्। त्यस्तै, रुसका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोव र किरिल दिमित्रिएव पनि सहभागी छन्।
यो वार्ताले दुई महाशक्तिबीचको सम्बन्धमा कायम रहेको असामान्य अवधि अन्त्य गर्ने लक्ष्य राखेको लाभ्रोवको भनाइ छ। त्यस्तै, यो वार्ताले डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको भेटको आधार पनि तयार गर्न सक्ने छ।
तर, युक्रेन र युरोपेली मुलुकहरूले भने आफूहरूलाई पन्छाइएकोमा चिन्ता व्यक्त गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया