ग्लोबल


सिंगापुरको संसद्‌मा झुट बोल्दा सांसदलाई जरिवाना

सिंगापुरको संसद्‌मा झुट बोल्दा सांसदलाई जरिवाना

प्रितम सिंह


नेपालखबर
फागुन ५, २०८१ सोमबार २०:३६, सिंगापुर

सिंगापुरका विपक्षी दलका नेतालाई संसद्‌मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झुटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको भनी सोमबार जरिवाना गरिएको छ।

सिंगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदबारे छानबिन गरिरहेको संसदीय समितिसमक्ष झुट बोलेकामा दोषी ठहर गरिएको हो।

केही महिनाभित्रै हुने चुनावमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेका बेला यो सजाय आएको हो।

पीएपीले सन् १९५९ देखि धनी सहर–राज्यमा शासन गरिरहेको छ।

सिंहले समितिलाई भनेको कुराविपरीत सांसद रइसाह खानलाई संसद्‌मा आफ्नो झुट ढाकछोप गर्न भनिए पनि सिकाएअनुसार ‘बनाउटी कुरा’ गर्दै गर्दा उनी चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्युक टानले बताए। 

न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, ‘सिंहले खानलाई बैठकका क्रममा आफ्नो दाबीलाई वास्तविक प्रमाणित गर्न’ हदैसम्म्को अभिनय गर्न भनेको रहेछन्। तर खानले सिंहले भनेजस्तो गर्न सकेनन्।’

अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारी मान्छेहरूले फसाएको दाबी गर्दै सिंहले भने, ‘मसँग भएको सल्लाह र मलाई शुभेच्छुकहरूले दिएको सल्लाहको आधारमा म आम चुनावमा भाग लिनेछु।’

उनले भने, ‘मलाई कानुन एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ। निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्नेछ भन्ने मैले बुझेको छु।’

उनले भने, ‘यो चुनाव सजिलो हुनेवाला छैन। हामीले कडा सङ्घर्ष गर्नु पर्नेछ र हामी त्यही गर्नेछौँ।’

सिंहलाई प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिवाना गरिएको अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए।

सिंहले भने, ‘विपक्षी राजनीति रोज्ने बाटो कमजोर मन भएकाहरूका लागि होइन।’

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात  हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ।

‘प्रतिआरोप १० हजार अमेरिकी डलर जरिवानाको सीमा ननाघेकाले उहाँ निर्वाचनमा जान अयोग्य ठहरिनुहुने छैन,’ सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक यूजीन टानले एएफपीसँग भने।

यस प्रकरणपछि विधायिकाबाट राजीनामा दिएकी रइसा खानले आफूसँगै आएकी एक महिला बलात्कारपीडितका बारेमा संसद्‌मा सुनाएको कथा तयार पारेको स्वीकारेकी थिइन्।

पूर्वसांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झुट बोलेको स्वीकारेको बताए। 

त्यसपछि सिंहले खानको बयानबारे छानबिन गर्ने संसदीय समितिसमक्ष झुट बोलेको आरोप लागेको थियो।

उनले पार्टी नेताका रूपमा आफ्नो जिम्मेवारीलाई कम आँक्ने प्रयासमा खानले बलात्कारपीडितका बारेमा कथा बनाएका विषय आफूलाई थाहा नभएको समितिलाई बताएका थिए। 

तर न्यायाधीशले साक्षीका रूपमा सिंहको विश्वसनीयतालाई तोडिदिएका छन्।

सन् २०२० को आम चुनावमा पीएपीले आफ्नो प्रभुत्व कायम राख्न ९३ मध्ये ८३ सिट जितेको थियो।

प्रमुख विपक्षी वर्कर्स पार्टीले सन् १९६५ मा स्वतन्त्र भएयताको सबैभन्दा बलियो प्रदर्शन गर्दै १० सिट जितेको थियो।

यसका नेताहरूले आगामी चुनावमा संसद्‌मा पार्टीको संख्या अझ बढाउने आशा व्यक्त गरेका छन्। यो चुनौति नयाँ प्रधानमन्त्री लरेन्स वोङको पहिलो ठूलो राजनीतिक परीक्षा हुनेछ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad