रुसले युक्रेनबाट कब्जा गरिएको भूमि छाडेर युक्रेनले कब्जा गरेको कुर्स्कको क्षेत्र फिर्ता लिने विषयमा युक्रेनसँग कुरै नगर्ने बताएको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले द गार्डियनसँगको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि आफूले युक्रेनको कब्जामा रहेको कुर्स्क र रुसको कब्जामा रहेको युक्रेनी भूभाग साट्ने प्रस्ताव गर्ने बताएका थिए।
गत अगस्टमा युक्रेनी सैनिकहरूले सीमा पार गरेर रुसको कुर्स्क क्षेत्रको केही हिस्सा कब्जा गरेका थिए। अझै पनि रुसले युक्रेनी सैनिकहरूलाई त्यहाँबाट पूर्णरुपमा हटाउन सकेको छैन।
तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले भूमि साट्ने प्रस्तावलाई ठाडै अस्वीकार गरिने बताए।
‘यो सम्भव छैन,’ दैनिक पत्रकार सम्मेलनमा उनले भने, ‘आफ्नो भूमि साट्ने छलफल रुसले कहिल्यै कसैसँग गर्दैन। यो भूभागबाट युक्रेनी टुकडीहरू लखेटिनेछन्। नलखेटिएकाहरू नष्ट गरिने छन्।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गत डिसेम्बर अन्तिममा आफ्ना सैनिकहरूले नै युक्रेनी सेनालाई कुर्स्कबाट बाहिर धकेल्ने बताएका थिए।
युक्रेन करिब २० प्रतिशत हिस्सा रुसको नियन्त्रणमा छ। एजेन्सी
Shares

प्रतिक्रिया