ग्लोबल


ट्रम्पको चेतावनी: युक्रेन ‘कुनै दिन रुस हुनसक्छ’

ट्रम्पको चेतावनी: युक्रेन ‘कुनै दिन रुस हुनसक्छ’

नेपालखबर
माघ २९, २०८१ मंगलबार १३:२२, किएभ

आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन ‘कुनै दिन रुस हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन्। 

रुससँगको करिब तीन वर्ष लामो युद्ध अन्त्यका लागि दबाब दिँदै ट्रम्पले सोमबार प्रसारण गरिएको प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा द्वन्द्वबारे छलफल गरे। 

‘उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन्। उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्’, उनले भने। 

किएभको प्राकृतिक स्रोतजस्ता दुर्लभ खनिजका लागि व्यापारको सुझाव दिँदै उनले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिए। 

‘हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ’, ट्रम्पले भने, ‘र, उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महसुस गर्दैनौँ।’

ट्रम्पले सोमबार पनि चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गरे। केलोगलाई लडाइँ रोक्न प्रस्ताव तयार गर्ने काम दिइएको छ। 

ट्रम्पले द्वन्द्वको छिटो अन्त्य गर्न दबाब दिइरहेका छन् भने जेलेन्स्कीले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन्। 

नाटो सदस्यता वा शान्तिरक्षा सेनाको तैनाथीजस्ता कडा सैन्य प्रतिबद्धता समावेश नगर्ने कुनै पनि सम्झौताले क्रेमलिनलाई पुनः समूहबद्ध हुन र नयाँ आक्रमणका लागि पुनः हतियार बनाउन अनुमति दिनेछ भन्ने डर किएभलाई छ। 

जेलेन्स्कीकी प्रवक्ता सेर्गी निकिफोरोभले युक्रेनी राष्ट्रपतिले यस शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको ‘साइडलाइन’ मा भान्ससँग भेट्ने बताइन्। 

जेलेन्स्कीको कार्यालयका एक स्रोतका अनुसार केलोग फेब्रुअरी २० मा युक्रेन आइपुग्नेछन् तर देशको कुन भागमा उनले भ्रमण गर्नेछन् भन्ने विवरण दिइएको छैन। उनको भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणको तीन वर्षे वार्षिकीको केही दिनअघि हुनेछ।

जेलेन्स्कीले सोमबार युक्रेनका लागि ‘वास्तविक शान्ति र प्रभावकारी सुरक्षा ग्यारेन्टी’को आह्वान गरे। 

‘जनताको सुरक्षा, हाम्रो राज्यको सुरक्षा, आर्थिक सम्बन्धको सुरक्षा र निस्सन्देह, हाम्रो स्रोतको दिगोपन: युक्रेनका लागि मात्र होइन, सम्पूर्ण स्वतन्त्र विश्वका लागि’, जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशित भिडिओ सम्बोधनमा भने, ‘यी सबैबारे अहिले निर्णय भइरहेको छ।’

ट्रम्पका बैठकहरू

ट्रम्पले युद्ध अन्त्य गराउन चाहेको बताएका छन् तर दुई पक्षलाई वार्ताको टेबलमा ल्याउन विस्तृत प्रस्ताव गरेका छैनन्। 

जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले पहिले नै एक अर्कासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिसकेका छन् र दुई पक्षबीच सम्झौता हुनसक्ने कुनै आधार देखिँदैन। 

पुटिनले युक्रेनलाई किएभको अझै पनि नियन्त्रणमा रहेको रुसको दक्षिण र पूर्वी भागहरूबाट फिर्ता लिन माग गरेका छन् र उनी युक्रेन र नाटोबीचको घनिष्ठ सम्बन्धलाई अस्वीकार्य ठान्छन्। 

यसैबीच जेलेन्स्कीले मस्कोलाई कुनै पनि क्षेत्रीय सहुलियत दिन अस्वीकार गरेका छन्। यद्यपि उनले केही क्षेत्र फिर्ता गर्न कूटनीतिक माध्यममा भर पर्नुपर्ने हुनसक्ने स्वीकार गरेका छन्। 

रुसले युक्रेनका पाँच क्षेत्रहरू - सन् २०१४ मा क्रिमिया र त्यसपछि २०२२ मा डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्झियालाई आफूमा गाभेको बताएको छ। यद्यपि यी क्षेत्रमा उसको पूर्ण नियन्त्रण छैन। 

जेलेन्स्कीले सोमबार ट्रम्पसँगको बैठकको व्यवस्था भइरहेको तर मिति अझै तय नभएको बताए भने ट्रम्पले गत हप्ता आफूले आउँदो दिनमा जेलेन्स्कीसँग ‘सम्भवतः’ भेट्ने बताएका थिए। तर व्यक्तिगत रूपमा किएभको भ्रमणलाई अस्वीकार गरे। 

ट्रम्पले न्युयोर्क पोस्टलाई बताएअनुसार उनले युक्रेनमा द्वन्द्वको अन्त्य गर्नेबारे छलफल गर्न पुटिनसँग फोनमा कुरा गरेका थिए र रुसी नेताले उनलाई ‘मानिसहरू मर्न रोकिएको हेर्न चाहनुहुन्छ’ भनेका थिए। 

क्रेमलिनकी प्रवक्ता दिमित्री पेसकोभले फोनवार्ताको पुष्टि वा अस्वीकार गर्न मानिनन्। 

म्युनिख सुरक्षा सम्मेलन (एमएससी) का आयोजकहरूले सोमबार जेलेन्स्कीले फेब्रुअरी १४-१६ शिखर सम्मेलनमा भाग लिने पुष्टि गरेका छन्।

एमएससी अध्यक्ष क्रिस्टोफ ह्युसगेनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोका साथै केलोग र भान्स सामेल हुने जानकारी दिए। उनले रुसी सरकारका कुनै प्रतिनिधि उपस्थित नहुने बताए। 

यो बैठक रुसले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढिरहेका बेला हुँदै छ। डोनेट्स्क क्षेत्रमा उसले गत वर्षमा केही बस्ती कब्जा गरेको छ। प्रायः महिनाौँको रुसी बमबारीले पूर्ण रूपमा ध्वस्त बनाएको छ। 

मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा महिनौँ लामो बमबारी अभियान पनि चलाएको छ। आक्रमणले किएभको सेनालाई सहयोग गर्ने सुविधालाई लक्ष्य गरेको दाबी गरिएको छ।

मङ्गलबार युक्रेनी ऊर्जामन्त्रीले ऊर्जा क्षेत्र ‘आक्रमणको निशानामा रहिरहेको’ र किएभले ‘सम्भावित परिणामहरूलाई न्यूनीकरण गर्न’ ‘तत्काल आपत्‌कालीन बिजुली आपूर्ति प्रतिबन्ध लागू गरिरहेको’ बताए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad