२७ वर्षपछि दिल्ली विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको जित भएको प्रतिक्रिया दिएका छन्।
दिल्ली विधानसभाका ७० सिटमध्ये ४८ स्थानमा आफ्नो पार्टीका उम्मेदवार विजयी भएपछि मोदी भाजपा मुख्यालय पुगे।
प्रधानमन्त्री मोदीले भने, ‘आज दिल्लीलाई विपत्तिमुक्त बनाएकामा दिल्लीका जनतामा उत्साह र शान्ति छ। मैले प्रत्येक दिल्लीवासीलाई पत्र पठाएर २१औँ शताब्दीमा भाजपालाई दिल्लीमा सेवा गर्ने अवसर दिन आग्रह गरेको थिएँ।’
आफूलाई विश्वास गरेकामा मोदीले दिल्लीका प्रत्येक परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले दिल्लीले भाजपामाथि माया बर्साएको बताए।
प्रधानमन्त्री मोदीले भने, ‘आजको जित ऐतिहासिक छ। यो सामान्य जित होइन। दिल्लीका जनताले विपत्तिबाट मुक्ति पाएका छन्। दिल्ली एक दशकको विपत्तिबाट मुक्त भएको छ।’
दिल्लीमा विकास, दृष्टिकोण र विश्वासको जित भएको मोदीले बताए।
उनले भने, ‘आज दिल्लीलाई घेरेको अराजकता, अहंकार र विपत्ति पराजित भएका छन्।’
Shares

प्रतिक्रिया