दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्प पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रबिन्दुबाट करिब १८ किलोमिटर टाढा थियो।
भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र १८८ जना घाइते भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुन:स्थापना गरिएको छ।
चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको राहत सामग्री पठाएको छ।
यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेडलगायत चार हजार तीन सय वस्तु समावेश छन्।
आरसीएससीद्वारा आपत्कालीन सरसफाइ, शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीसहित ५० भन्दा बढी उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा पठाइएका छन्। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया