कारोबार


पुँजीबजारका अवाञ्छित गतिविधि रोक्न अटोमेसन प्रणालीमा लैजाने: अध्यक्ष श्रेष्ठ

पुँजीबजारका अवाञ्छित गतिविधि रोक्न अटोमेसन प्रणालीमा लैजाने: अध्यक्ष श्रेष्ठ

नेपालखबर
पुस २४, २०८१ बुधबार २०:३८, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताएका छन्।

अध्यक्ष श्रेष्ठले बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा पछिल्लो समय पुँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताएका हुन्।

धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो। नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै उनले पुँजीबजारलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको पनि बताए।

पुँजीबजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पुँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने जानकारी पनि उनले दिए।

उनले भने, ‘नेपाल धितोपत्र बोर्डको जिम्मेवारी धेरै छ तर मुख्यतः क्षमता अभिवृद्धि गर्न आवश्यक छ। संस्थागत सुदृढीकरण जरुरी छ। संस्था बलियो नभएसम्म प्रभावकारी काम गर्न सकिँदैन। धितोपत्र बजार प्रणालीमा सुधार गर्नुपर्नेछ। ७० लाख लगानीकर्ता पुगिसकेका छन्। त्यसबाहेक सेवा दिने सरोकारवालाहरू दुई सयमाथि पुगिसकेका छन्। बजारको निरीक्षणदेखि अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्नको लागि अटोमेसनमा जानुपर्ने अवस्था छ। अब हामीलाई अवाञ्छित गतिविधिलाई हेरेर बस्ने छुट छैन। बजारलाई नयाँ उचाइमा लैजाने र अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नेतर्फ जानुपर्ने हुन्छ।’

आईपीओको प्रक्रिया पनि अब अगाडि बढाउने उनको भनाइ छ।

‘अहिले अनुमति नपाएको अवस्था मात्रै हो,’ उनले भने, ‘कम्पनीहरूको अध्यावधिक गर्नको लागि समय लागेको हो। विभिन्न डकुमेन्ट तथा अडिट रिपोर्टहरू हेर्नुपर्ने कारणले ढिला भएको हो। अबको एक-दुई दिनभित्रै आईपीओ निष्कासनको प्रक्रिया सुरु हुन्छ। लामो समय रोकिएको आईपीओ एकैपटक आउँदा ओभर सप्लाई भएर बजारलाई असर गर्छ भन्ने पनि छ। त्यसैले बजारमा हुन सक्ने नकारात्मक असरलाई पनि कम गर्ने विषयमा बोर्ड सचेत छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad