ग्लोबल


दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटना भएपछि जेजु एअरले माग्यो माफी

दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटना भएपछि जेजु एअरले माग्यो माफी

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८१ आइतबार १२:२७, काठमाडौँ

दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान १८१ जना सवार विमान दुर्घटनामा २ जना बाँच्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर मृत्यु कति जनाको पुष्टि भयो भन्ने विषयमा फरक-फरक समाचार आइरहेका छन्।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उद्धार गरिएका २ जनाबाहेक बाँकी सबैको मृत्यु भएको अनुमान गरिएको उल्लेख गरेको छ। यद्यपि अहिलेसम्म अधिकारीहरूले ९४ जनाको मृत्यु पुष्टि गरेको जनाइएको छ। 

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्ससँग दुई जना जीवितै फेला परेको बताएका छन्।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक थिए।

विमान दुर्घटनाको ठोस कारण भने पत्ता लागेको छैन। तर, समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चरासँग विमान ठोकिएको देखिएको छ। 

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ, जसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ। 

भिडिओमा विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोकिएपछि त्यसको केही भाग आगोले जलेको देखिन्छ। दोस्रो भिडिओमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखिन्छ। 

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्य बचाइएको बताइएको छ।

मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ। दक्षिण कोरियाको विमान उद्योग सुरक्षाका हिसाबले राम्रो मानिन्छ।

यो विमान दुर्घटना इतिहासमा जेजु एयरको पहिलो घातक दुर्घटनाका रूपमा वर्णन गरिएको छ। जु एयर २००५ मा स्थापना भएको दक्षिण कोरियाको सबैभन्दा ठूलो कम लागतको एयरलाइन्समध्ये एक हो।

जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ।"

विज्ञप्तिमा थप भनिएको छ, "हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ। हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad