ग्लोबल


जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्समा साइबर आक्रमण

नेपालखबर
पुस ११, २०८१ बिहिबार १३:५३, टोकियो

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ। एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो। 

एयरलाइन्सको ब्यागेज चेक-इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो। 

जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो।

‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्‍यौँ। हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगन गरिएको छ। कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ।’

यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए। 

स्थानीय समयानुसार बिहीबार बिहान ७:२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो।

‘त्यसपछि बिहान ८:५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बीच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्‍यौँ”, विज्ञप्तिमा उल्लेख छ। 

यो खबर सार्वजनिक भएपछि जेएएलको सेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो। त्यसपछि केही सुधार भयो।

एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो। 

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो। 

सोही वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह र्‍यान्समवेयर आक्रमणबाट प्रभावित थियो। यसको दोष रुसमा आधारित साइबर अपराध संगठन लकबिटलाई दिइएको थियो।

जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ। 

सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो। यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो। 

हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगन गरेको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad