मलेसिया सरकारले १० वर्षअघि हराएको विमान फेरि खोज्न सैद्धान्तिक सहमति दिएको छ।
मार्च २०१४ मा बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच३७० को स्थिति आजसम्म पनि रहस्यमै छ। क्वालालम्पुरबाट बेइजिङका लागि उडेको विमानमा २३९ यात्रु थिए।
वर्षौं कोसिस गरिए पनि सो विमानको अवशेष पत्ता लगाउन सकिएको थिएन।
शुक्रबार मलेसियाका यातायातमन्त्री एन्टोनी लोकले अमेरिकास्थित ओसन इन्फिनिटी नामक कम्पनीसँग खोजीका लागि सम्झौता भएको बताए। त्यसका लागि क्याबिनेटले ७ करोड डलर दिने सैद्धान्तिक सहमति पनि भएको छ।
तर, विमानको अवशेष भेटिए मात्र सो कम्पनीले रकम पाउने छ। २०१८ मा सोही कम्पनीले यस्तै सम्झौता गरेको थियो। र, तीन महिनाको खोजीपछि रित्तो हात फर्किएको थियो।
अनेकौँ मुलुकहरूको प्रयासमा गरिएको खोजी १५ करोड डलर खर्च भएपछि २०१७ मा बन्द गरिएको थियो।
८ मार्च २०१४ मा क्वालालम्पुरबाट उडेको एक घण्टा नबित्दै विमानसँग सम्पर्क विच्छेद भएको थियो। रेडारमा विमानले आफ्नो बाटो छाडेको देखिएको थियो।
अनुसन्धानकर्ताहरू सो विमान दक्षिणी हिन्द महासागरमा कहीँ न कहीँ दुर्घटना भएको अनुमान गर्छन्। तर, अहिलेसम्म ठोस जानकारी प्राप्त भएको छैन।
केही वर्षपछि विमानका केही टुक्राटाक्री हिन्द महासागरका किनारामा फेला परेका थिए। जुन सोही विमानको भएको अनुमान गरिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया