ब्राजिली राष्ट्रपति लुइज इनासिया लुला दा सिल्भाको आकस्मिक मस्तिष्क शल्यक्रिया गरिएको छ। हाल उनी आईसीयूमा रहेको बताइएको छ।
एमआरआई गर्दा दिमागमा रगत बगेको देखिएपछि उनको शल्यक्रिया गरिएको थियो।
साओ पाओलोको सिरिओ लिबानेस अस्पतालका चिकित्सकहरूले उनको शल्यक्रिया सफल भएको बताएका छन्।
‘लुला अहिले स्थिर छन्, सामान्य तरिकाले बोलिरहेका छन्। उनी केही दिन निगरानीमा रहने छन्,’ उनका निजी चिकित्सक डा. रोबार्टो कलिलले भनेका छन्।
चिकित्सकहरूका अनुसार ७९ वर्षीय लुलाको दिमागमा बगेको रगत निकाल्न ३ सेन्टिमिटर प्वाल पारिएको थियो।
लुलाको टाउको अक्टोबरमा बाथरुममा लडेर ठोक्किएको थियो। जसका कारण उनी रुसमा आयोजित ब्रिक्स सम्मेलनमा जान सकेका थिएनन्। उनको टाउकोमा कयौँ टाँका लगाइएको थियो।
त्यही ठोक्काइका कारण उनको दिमागमा रगत बगेको बताइएको छ।
सोमबार राति टाउको दुखेपछि उनी ब्राजिलियाको अस्पतालमा भर्ना भएको थियो। तर, रगत बगेको देखिएपछि उनलाई शल्यक्रियाका एक हजार किलोमिटर टाढाको साओ पाओलो पु¥याइएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया