दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले यो हप्ता मार्सल ल (सनिक कानुन) लागू गरेकामा माफी मागेका छन्।
राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले भने, म मार्सल ल लागू भएकामा धेरै दु:खी छु। यसबाट स्तब्ध भएकाहरूसँग म इमानदारीपूर्वक माफी माग्न चाहन्छु।
मार्सल ल अर्थात् सैन्य शासनको घोषणा र लगत्तै हटाउन बाध्य भएका राष्ट्रपतिले आफ्नो पहिलो सम्बोधनमै राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो तर त्यसो भएन।
राष्ट्रपतिले स्थिति स्थिर बनाउने जिम्मा सत्तारुढ दललाई दिने बताएका छन्। उनले आफ्नो भाषणमा महाभियोगको पनि उल्लेख गरेनन्।
युन सुक योलले मंगलबार अचानक देशमा मार्सल ल घोषणा गरेर सबैलाई चकित पारेका थिए। उनले यस्तो कदम चाल्नुको कारण ‘राष्ट्रविरोधी शक्ति’को घुसपैठ रोक्न रहेको दाबी गरेका थिए।
मार्सल ल लागू भएपछि देशमा चर्को विरोध सुरु भयो। विपक्षी दलले राष्ट्रपतिको राजीनामा माग गर्दै उनीविरुद्ध महाभियोग प्रस्ताव पेस गरेका छन्।
Shares

प्रतिक्रिया