सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिला- साथी वा नातेदारबाट मारिएको रिपोर्ट संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ।
लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो।
करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको हत्या आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ। यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो।
रिपोर्टमा भनिएको छ,‘यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमका हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो।’
अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो।
सबैभन्दा कम महिला हत्या दर युरोप र एसियामा रहेको रिपोर्टमा उल्लेख छ।
केही देशमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढिवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या ‘भयानक’ छ।
यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वालेले भने,‘हामीले महिलाविरुद्ध हिंसालाई कायम राख्ने लैङ्गिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरूद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ।’
‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा बहौसले महिलाविरुद्ध हुने हिंसा रोक्न सशक्त कानून, बृहत्तर सरकारी जवाफदेहिता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताइन्।
उनले अगाडि भनिन्,‘यसबाहेक, मिडिया रिपोर्टहरू सहित विभिन्न राष्ट्रिय स्रोतबाट सुधारिएको तथ्याङ्क सङ्कलन र ‘शून्य सहनशीलता संस्कृति’ महिला हत्याको सामना गर्न आवश्यक छ।’
यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाबाट सङ्कलन गरिएको जानकारीमा आधारित छ। संयोगवश यो प्रतिवेदन अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको छ। रासस/एएफपी
Shares

प्रतिक्रिया