ग्लोबल


अमेरिकालाई नफाप्न सक्छ संसारकै शक्तिशाली र धनीबीचको मेलजोल

अमेरिकालाई नफाप्न सक्छ संसारकै शक्तिशाली र धनीबीचको मेलजोल

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार २१:११,

सन् २०१७ मा इलोन मस्कले डोनाल्ड ट्रम्पलाई ‘ठग’ र ‘दुनियाँको सबैभन्दा उम्दा ढँटुवा’ भनेका थिए। अहिले ट्रम्पको घर मार ए लागोमा उनलाई ‘अंकल इलोन’ भन्ने गरिन्छ भने उनी ट्रम्पको भित्रियामध्येमा पर्छन्। गतसाता उनीहरूले सँगै बसेर मस्कको रकेट प्रक्षेपण अवलोकन गरे। 

विश्वको सबैभन्दा शक्तिशाली नेता र विश्वकै सबैभन्दा धनी व्यक्तिबीचको यो गठबन्धनले एउटा त्यस्तो शक्ति पैदा गर्छ, जसलाई उनीहरू दुवै विस्फोटक तरिकाले उपयोग गर्न चाहन्छन्। उनीहरू कर्मचारीतन्त्र छिमल्न, उदारवादी परम्परा सिध्याउन र वृद्धिका नाममा नियमन समाप्त गर्न चाहन्छन्।

ट्रम्पसँग त्यस्तो खलबली ल्याउने जनादेश पनि छ। आर्थिक रूपमा अमेरिका यति शक्तिशाली हुँदाहुँदै पनि मेन स्ट्रिट, वाल स्ट्रिट र सिलिकन भ्यालीका अधिकांश हिस्सा सरकारी लापरबाही र अक्षमताका कारण निराश छन्। उनीहरू सही छन्। राज्यमा ठूलो फेरबदल आवश्यक छ। तथापि, मस्कको नेतृत्वमा हुने सुधारले अमेरिकाका लागि नयाँ समस्या खडा गर्न सक्छ। त्यो हो– विस्फोटक र भ्रष्ट अल्पतन्त्रको उदय।

ट्रम्पलाई चुनाव जिताउन सहयोग गरेको केही दिनमै मस्क सत्ताको सिरानमा उक्लिसकेका छन्। ट्रम्पले उनलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी नामक नयाँ सल्लाहकार निकायको प्रमुख नियुक्त गरेका छन्। जोमाथि सरकारी खर्च घटाउने कार्यभार छ। 

मस्कले अहिले नै विदेशी नेताहरूसँग सम्पर्क गर्न थालिसकेका छन्। त्यस्तै, मन्त्री नियुक्तिमा पनि उनी लबिइङ गरिरहेका छन्। 

तर, अमेरिकी सत्तामा कुनै व्यवसायीको असाधारण प्रभाव कायम भएको यो पहिलोपटक होइन। १९ औँ शताब्दीमा जोन डी रकफेलरजस्ता ‘रबर ब्यारोन’ अर्थव्यवस्थामाथि हाबी थिए। २०औँ शताब्दीको सुरुवातमा फेडेरल रिजर्भ अस्तित्वमा नहुँदा जेपी मोर्गनजस्ता व्यक्तिले आफैँ केन्द्रीय ब्यांकको भूमिका खेलेका थिए।

१९औँ र २०औँ शताब्दीमा एकाधिकार जमाएका ती कम्पनीको तुलनामा मस्कका कम्पनी विश्वभर फैलिएका छन्। तिनको जीडीपीअनुसारको नाफा हेर्दा मस्कका कम्पनी साना पनि देखिन्छन्। मस्कका कम्पनीहरूले अमेरिकाको सेयर बजारको २ प्रतिशत हिस्सा ओगट्छन्। उनका प्रमुख कम्पनीहरूमा विद्युतीय कार निर्माता टेस्ला, स्याटलाइट सञ्चार र रकेट व्यवसाय स्पेसएक्स, पहिले ट्विटर भनिने एक्स र आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआई पर्छन्। यी सबैले तत्सम्बन्धी बजारको ३० प्रतिशतभन्दा कम हिस्सा मात्र ओगट्छन् र उनीहरूले प्रतिस्पर्धाको सामना गर्नुपर्छ। 

मस्कको कुल सम्पत्ति ३६० अर्ब डलर छ, जसको १० प्रतिशत उनले अमेरिकी सरकारको ठेक्का र अनुदानबाट कमाएका हुन् भने १५ प्रतिशत चिनियाँ बजारबाट। बाँकी भने घरेलु र अन्तर्राष्ट्रिय ग्राहकका माध्यमबाट।

मस्क अलग छन् किनकि उनी उथलपुथलकारी हुन्। एकाधिकारको बलमा मूल्य वृद्धि गर्नु वा वित्तीय व्यवस्थाको जगका रूपमा स्थिर ब्यांकिङ प्रणाली बनाउनुको सट्टा मस्कका कम्पनीहरूले प्रतिस्पर्धात्मक बजारमा खर्च कटौती गर्न प्रविधिको उपयोग गर्छन्। यो मस्कको विचारधाराको केन्द्रमा छ। उनको विचार अनुसार जलवायु परिवर्तनदेखि मंगल ग्रहमा बस्ती बसाउनेसम्मका कठिन मानवीय चुनौतीलाई नवप्रवर्तनले जित्छ। 

यी दूरगामी लक्ष्य प्राप्त गर्ने कुरा त्यस्तो खुबीमा निर्भर हुन्छ, जसले लगातार औद्योगिक प्रक्रियाहरूमा पुनर्विचार गरिरहन्छ। काममा अधिक स्वतन्त्रता मस्कको चाहना देखिन्छ। रक्षासम्बन्धी कम्पनीहरूमा धाँधलीको अनुमति दिने कर्मचारीदेखि टेस्लाका कारखाना नियमन गर्नेसम्मका राज्यका निकायलाई उनी आर्थिक वृद्धिको बाधा मान्छन्।

ट्रम्प र मस्क दुवै संघीय सरकारमा उथलपुथल गर्न चाहन्छन्। मस्कले उनको नयाँ विभागले ७ ट्रिलियन डलरको वार्षिक संघीय बजेटमध्ये २ ट्रिलियन डलर कटाउने लक्ष्य राखिने र कयौँ एजेन्सी बन्द गर्ने बताएका छन्। यस्ता लक्ष्यलाई बुद्धुपन भनेर उपहास गर्न सजिलो छ। २ ट्रिलियन डलर भनेको सरकारको सम्पूर्ण गैरअत्यावश्यकीय खर्चभन्दा बढी हो। तर जीडीपीको ६ प्रतिशत बजेट घाटा र करिब शत प्रतिशत ऋण हुनाले सुधार अत्यावश्यक छ। 

पुरानो चर्मराउँदो पेन्टागनको संयन्त्र ड्रोन र एआईको युग अनुकूल हुन सकिरहेको छैन। संघीय सरकारका नियमहरू ९० हजार पृष्ठ पुगिसकेको छ। मस्कले आफ्नो लक्ष्यको एउटा हिस्सा मात्रै पूरा गर्न सके भने अमेरिकाले धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ।

यसका खतरा चाहिँ के हुन् त? एउटा हो– आसेपासेवाद र भ्रष्टाचार। ट्रम्प आर्थिक राष्ट्रवादी हुन्। र, मस्कका कम्पनीहरूको स्वार्थ रणनीतिक बन्नुमा छ। चीनसँगको प्रतिद्वन्द्विता, अन्तरिक्षको सैनिकीकरण र सीमापार दुष्प्रचार युद्धका कारण। सत्तासँगको निकटताका कारण नियम तोडमोड गरेर उनले कार, क्रिप्टोकरेन्सीदेखि लिएर स्वचालित वाहन र एआईसम्मका क्षेत्रमा प्रतिस्पर्धीहरूलाई पछार्न सक्छन्। सेप्टेम्बरयता मस्कका कम्पनीहरूको मूल्य ५० प्रतिशत बढेर १.४ ट्रिलियन डलर पुगेको छ। यो अरुको तुलनामा धेरै राम्रो प्रगति हो। किनकि लगानीकर्ताहरूलाई लागेको छ, राष्ट्रपतिसँगको मस्कको मित्रताले असाधारण नाफा दिनेछ।

उसो त मस्क नराम्ररी असफल हुन पनि सक्छन्। खासगरी उनको विशेषज्ञताभन्दा बाहिरको क्षेत्रमा। विदेश मामिलामा उनले गलत निर्णय गरिसकेका छन्, युक्रेनमा स्टारलिंक स्याटलाइट सेवा दिने सवालमा। त्यस्तै, ताइवानलाई हवाईसँग दाँजेर। प्रचारको उनको भोक, षड्यन्त्रहरूप्रतिको मोह र सामाजिक सञ्जालको भुमरी चिन्ताजनक छ। उनको व्यक्तिगत सम्पत्तिमध्ये ५० अर्ब डलर चीनसँग गाँसिएको छ। जहाँ टेस्लाका आधाजसो कार उत्पादन हुन्छन्। यसले पनि उनी छलछामको निसाना बन्ने निश्चित छ।

काम सुरु नै नगरी पनि उनी असफल हुन सक्छन्। ट्रम्प–मस्क गठबन्धन छ नै त्यस्तो। ट्रम्प झटपट नियुक्ति र बर्खास्ती रुचाउँछन्। मस्क पनि सहयोगी र सम्बन्धबाट छिटोछिटो टाढा हुन्छन्। सिलिकन भ्यालीको ‘लिबरटारियनिजम’ र प्रविधि–युटोपियावादसँग ट्रम्पको राष्ट्रवादको मेलजोल आफैँमा अस्थिर छ। सरकारमा सुधार ल्याउन धैर्य र कूटनीति चाहिन्छ। यी दुवै मस्कका खुबी होइनन्।

यदि ट्रम्पको राजनीतिक करिअर अत्यन्तै छोटो भयो भने पनि त्यसले दुई दीर्घकालीन र घातक प्रभाव पार्न सक्छ। एक, यसले राजनीतिकर्मीहरूलाई सरकार सुधारको प्रयासबाट टाढा लैजाने छ। मस्कको नियुक्तिपछि यो लक्ष्यले ज्यादा ध्यान खिचेको छ। तर, उनले आधाअधुरो कार्यक्रम सुरु गरे भने त्यो सानदार तरिकाले विफल हुनेछ। त्यससँगै खर्च कटौती गर्ने महत्वाकांक्षा वर्षौं पछाडि धकेलिने छ।

दोस्रो प्रभाव, नेता र व्यापारीबीचको साँठगाँठ सामान्य बन्ने छ। राज्य जति व्यापार, औद्योगिक नीति र प्रविधिमा फैलिँदै छ, उति राज्यमाथि कब्जा गर्दाको फाइदा बढ्दै छ। साथै, ट्रम्पको विधि नै संस्थाहरूलाई र स्वार्थको द्वन्द्वबाट रोक्ने अभ्यासहरूलाई कमजोर तुल्याउने खालको छ। अमेरिका अझै पनि उदाउँदा बजारहरूले गर्ने व्यवहारबाट टाढै छ। तर, सीमित व्यवसायी र शक्तिशाली नेताबीचको साँठगाँठको बानी लाग्यो भने त्यसबाट निकै ठूलो क्षति हुनेछ। यो कुरा पहिले अकल्पनीय थियो, अब त्यस्तो रहेन।

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad