ग्लोबल


लन्डनमा एक बिहान जब संसारकै अग्ली र होची महिलाले सँगै चिया पिए...

लन्डनमा एक बिहान जब संसारकै अग्ली र होची महिलाले सँगै चिया पिए...

एलियोनोरा पिलास्ट्रो
मंसिर ६, २०८१ बिहिबार १४:३, काठमाडौँ

विश्वका सबैभन्दा अग्ला र होचा मान्छेले सधैँ भेट्दैनन्। र, जब उनीहरुले भेट्छन्, त्यो जादुयी हुन्छ। 

गिनिज वर्ल्ड रेकर्ड्स डेको २०औँ वार्षिकोत्सवमा ज्योति अम्गे र रुमिएसा जेल्गी (विश्वकै होची र अग्ली महिला)ले उनीहरुको पहिलो भेट लन्डनस्थित द सावोय होटलमा गरे। 

यी दुई महिला गिनिजको सबैभन्दा रुचाइएको शीर्षकको प्रतिनिधित्व गर्छन्। उनीहरुले सँगै भव्य समय खर्चिए। 

बिहानको समयमा एकअर्काबारे थाहा पाए र स्वादिलो चियासँगै स्मरणीय पल बिताए। 

रुमिएसा विश्वकै अग्ली महिलाको रुपमा संसारमा चर्चित छिन्। उनको उचाइ २१५.१६ सेन्टिमिटर अर्थात् ७ फिट ०.७ इन्च उचाइकी छिन् भने ज्योति संसारकै होची अर्थात् ६२.८ सेन्टिमिटर अर्थात् २ फिट ०.७ इन्चकी। 

यी दुईबीचको उचाइको अन्तर नै १५२.३६ सेन्टिमिटर अर्थात् ५ फिटको छ। परम्परागत बेलायती चियाको सुर्कीसँगै उनीहरु लगत्तै साथी बने। जीवनका अनुभव बाँडे र फेसन र स्वहेरचाहको माया आदानप्रदान गरे। 

‘ज्योतिसँग पहिलोपटक भएको भेट साँच्चै अचम्मको थियो’, रुमिएसाले भनिन्, ‘उनी सबैभन्दा राम्री महिला हुन्, लामो समयदेखि उनलाई भेट्न चाहिरहेको थिएँ।’ 

‘म आफूभन्दा अग्ला मान्छेलाई हेरिरहेको हुन्थेँ’, ज्योतिले थपिन्, ‘तर आज म संसारकै अग्ली महिलालाई देख्न पाउँदा एकदमै खुसी छु।’ 

रुमिएसाले उनीहरुको भेटलाई स्मरणीय रहेको बताउँदै आफ्ना सोखबारे अवगत गराएको र मेकअप र स्वहेरचाहका तरिकाहरु बाँडेको उल्लेख गरिन्। 

‘हामीलाई आँखै जुधाउनचाहिँ साँच्चै गाह्रो भएको थियो, अमिल्दो उचाइले गर्दा’, उनले भनिन्, ‘तर यो निकै ठूलो थियो।’

उनीहरुको भेटमा उपस्थित रहेका गिनिज वर्ल्ड रेकर्ड्सका प्रधानसम्पादक क्रेग ग्लेन्डे आआफ्ना फरक विशेषतालाई खुसीमा बदल्न पाउनु ठूलो कुरा भएको बताउँछन्। 

भेटको अन्त्यमा क्रेगले रुमिएसा र ज्योतिलाई विशेष प्रमाणपत्र दिएका थिए। 

नीलो र स्वर्ण प्रमाणपत्रले उनीहरुको विशेष स्थितिलाई गिनिज वर्ल्ड रेकर्ड्स आइकन उर्फ रेकर्ड तोड्ने सफलताको रुपमा जनाउँछ। 

यस्तो विशेष प्रमाणपत्र पाउँदा ज्योति दंग थिइन्। उनले यो पाउनेबारे आफूले कहिल्यै नसोचेको उल्लेख गरिन्। 

उनी भन्छिन्, ‘म अहिले यति खुसी छु कि वर्णन नै गर्न सक्दिनँ।’

रुमिएसाले पनि ज्योतिसँगको भेटलाई अवर्णनीय भन्दै खुसी व्यक्त गरिन्। 

विश्वकै अग्ली महिला रुमिएसा टर्कीकी हुन्। १७ वर्षमै उनी अग्ली किशोरीको रुपमा चर्चित भइसकेकी थिइन् भने सन् २०२१ मा संसारकै अग्ली महिलाको ख्याति प्राप्त गरेकी थिइन्। 

वीभर सिन्ड्रोम भनिने अवस्थाका कारण उनको उचाइ यस्तो हुन पुगेको हो। यो सिन्ड्रोमले ईजेटएच२ जिनको म्युटेसन भई हड्डीको असामान्य वृद्धि हुने हुन्छ। विश्वभर डाक्टरहरुले यस्तो अवस्था ५० जनामा मात्रै भेट्टाएको छ। यस्तोमा रुमिएसा २७औँ यस्तो केस हुन् भने टर्कीमा पहिलो। उनका जीवनका उतारचढाव, सामाजिक भोगाइबारे बायोग्राफिक डक्युमेन्ट्रीहरु समेत बनेका छन्। 

यता संसारकै होची महिला ज्योति भारतको नागपुरमा सन् १९९३ डिसेम्बर १६ मा जन्मिएकी हुन्। उनको कम उचाइको कारण एकोन्ड्रोप्लासिया हो। यसले हड्डीको आवश्यक वृद्धिलाई रोक्छ र पाखुरा र खुट्टालाई असर पुर्याउँछ। 

यसलाई स्केलेटल डिस्प्लासिया पनि भनेर बुझिन्छ। यो एक जेनेटिक डिसअर्डर हो। भ्रूण विकासको सुरुवाती चरणमा यस्तो हुँदा छोटो स्वरुप हुने र शिशुको हातखुट्टा छोटा हुने हुन्छ।

३० वर्षीया उनी मेकअप र फेसनलाई रुचाउँछिन्। सामाजिक सञ्जालमा उनका धेरै फ्यान छन्। उनी फेसबुक रिलमा आफ्नो भिडिओ पोस्ट गर्छिन्। सन् २००९ मा सबैभन्दा होची किशोरी बन्दा उनी १५ वर्षकी मात्र थिइन्।

त्यसपछि सन् २०११ मा पुनः उचाइ नापिएको थियो। सोहीपछि उनी ६२.८ सेन्टिमिटरसहित संसारकै होची महिला बनेकी थिइन्। उनले र्‍यान मर्फीको अमेरिकन हरर स्टोरीः फ्रिक शोमा अभिनय समेत गरेकी छिन्। गिनिज वर्ल्ड रेकर्ड्सबाट भावानुदित 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad