ग्लोबल


जर्मनीले ‘एआई’बाट चल्ने ४ हजार ड्रोन युक्रेन पठाउने

जर्मनीले ‘एआई’बाट चल्ने ४ हजार ड्रोन युक्रेन पठाउने

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ३, २०८१ सोमबार २२:३, बर्लिन

जर्मनीले सोमबार युक्रेनलाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्देशित चार हजार ड्रोन उपलब्ध गराउने घोषणा गरेको छ।

जर्मनी रुसविरुद्धको लडाइँमा युक्रेनलाई धेरै सैन्य सहायता प्रदान गर्ने दोस्रो मुलुक हो।

रक्षामन्त्री बोरिस पिस्टोरियसले बाभेरियामा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उपलब्ध गराइएका ड्रोनहरू ‘एआईद्वारा निर्देशित र समर्थित’ भएको र यसले शत्रुको इलेक्ट्रोनिक ड्रोन प्रतिरक्षालाई बाहिर निकाल्न सक्ने बताएका छन्। 

पिस्टोरियसले भने, “ड्रोनहरू ‘धेरै छिटो पठाउन सकिन्छ’ र करिब ३० देखि ४० किलोमिटर टाढाबाट लडाकु पोस्ट, रसद केन्द्र र अन्य लक्ष्यहरूमा प्रहार गर्न सकिन्छ।

बर्लिनले गत जुनमा युक्रेनलाई ड्रोन उपलब्ध गराउने घोषणा गरेको थियो तर त्यसबारे विस्तृत जानकारी दिएको थिएन।

जर्मनीका सञ्चारमाध्यमले मानवरहित हवाई वाहनहरूलाई ‘मिनी-टाउरस’ उपनाम दिएका छन्।

रक्षा मन्त्रालयका प्रवक्ता नताली जेनिङले सोमबार सरकारी पत्रकार सम्मेलनमा भने, “यी सीमित दायरामा मार हान्ने रणनीतिक ड्रोन हुन्।”

रुस र पश्चिमलाई थप प्रत्यक्ष द्वन्द्वमा तान्न सक्ने डरले ‘सोसल डेमोक्र्याट पार्टीबाट चान्सलर बनेका ओलाफ स्कोल्जको नेतृत्वमा रहेको वर्तमान सरकारले युक्रेनलाई ‘टाउरस’ प्रणाली प्रदान गर्न अस्वीकार गरेको थियो।

रुससँगको लडाइँमा बल पुर्‍याउन ५०० किलोमिटर (३१० माइल) भन्दा बढी दूरीको क्षेप्यास्त्रका लागि किएभले पटकपटक गरेको आग्रह निरर्थक भएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार युक्रेनलाई रुसभित्रका लक्ष्यमा प्रहार गर्न लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने निर्णय गरे पनि सरकारले सोमबार आफ्नो अडानमा कुनै परिवर्तन नआएको बताएको छ। 

हालैका हप्तामा रुसी सेनाले तीव्र प्रगति हासिल गरेको र मस्कोले उत्तर कोरियाली सेनालाई आफ्नो युद्ध प्रयासमा सहयोग पुर्‍याउने निर्णयका बाबजुद स्कोल्जले निरन्तर संयमताका लागि लामो दूरीको हतियार प्रयोगका लागि अनुमति दिन आनाकानी गरिरहेका थिए। 

चान्सलरको आफ्नै सरकारका केही सदस्यले उनको अडानप्रति विरोधसमेत जनाएका छन्।

आगामी फेब्रुअरीमा हुने मध्यावधि आमनिर्वाचनमा ग्रिन पार्टीको नेतृत्व गर्ने भाइस चान्सलर तथा अर्थतन्त्रमन्त्री रोबर्ट हेबेकले आफू चान्सलर भएको खण्डमा युक्रेनलाई ‘टाउरस’ प्रणाली हस्तान्तरण गर्ने बताएका छन्। 

प्रमुख विपक्षी दल कन्जरभेटिभ क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले पनि किएभमा क्षेप्यास्त्र पठाउने पक्षमा रहेको बताएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad