अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताएका छन्।
पूर्वविदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घकी पूर्वराजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गरेका हुन्।

आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेख्दै ती दुवै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने जानकारी गराएका हुन्।
पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रुसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गरेका थिए।
ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी र रुसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गरिरहेका छन्।
हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नुअघि उनीविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले शनिबार लेखेका छन्, ‘म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु।’
ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिसेका छन्। ह्वाइट हाउसको महत्त्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त भएकी उनी पहिलो महिला हुन्।
Shares

प्रतिक्रिया