ad ad

ग्लोबल


चुनाव जित्न ह्यारिसले भित्र्याइन् ओबामाको सल्लाहकार टोली

चुनाव जित्न ह्यारिसले भित्र्याइन् ओबामाको सल्लाहकार टोली

नेपालखबर
भदौ ५, २०८१ बुधबार १५:४६,

मंगलबार राति डेमोक्र्याटिक पार्टीको सम्मेलनको दोस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको पक्षमा जोसिलो भाषण दिए। 

‘आशा फर्किंदैछ,’ सिकागोमा आयोजित सम्मेलनमा ओबामाले भने। तर, उनले होसियार रहन पनि सचेत गराए।

‘भ्रममा नपर्नुस्, कडा टक्कर हुनेछ,’ ६३ वर्षीय ओबामाले भने। लगत्तै उनकी पत्नी मिसेलले पनि उस्तै सन्देश दोहोर्‍याइन्।

ह्यारिस र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिँदैछ। केही सर्वेक्षणहरूमा ह्यारिस अगाडि देखिएकी छन्। तर, नतिजा फरक पार्ने राज्यहरूमा उनीहरूबीच कडा टक्कर रहेको बताइन्छ।

ह्यारिसलाई ओबामाको समर्थन भाषणका मञ्चमा मात्रै सीमित छैन। बहाल राष्ट्रपति जो बाइडेन पछि हटेपछि ह्यारिसले ओबामा प्रशासनका बेला ह्वाइटहाउसमा काम गरेका कयौँ सल्लाहकारहरूलाई पनि आफ्नो टिममा भित्र्याएकी छन्।

२०२० राष्ट्रपतिको उम्मेदवार बन्ने ह्यारिसको योजना सफल भएको थिएन। पछि उनी उपराष्ट्रपति निर्वाचित भइन्। तर, पद सम्हालेलगत्तै उनलाई आफ्ना स्टाफ नियुक्त गर्न पनि समस्या भएको थियो। किनभने उनीसँग वफादार स्टाफ कमी थियो।

अर्कोतर्फ, ओबामाको टोलीले भने दुईपटक ऐतिहासिक काम गरिसकेको छ। पहिलोपटक एक अश्वेत उम्मेदवारलाई राष्ट्रपतिमा जिताएर र दोस्रोपटक प्रतिकूल आर्थिक अवस्थामा उनलाई पुनः जिताएर।

त्यसैले पहिलो अश्वेत महिलालाई चुनाव जिताउन त्यही टोलीको सहयोग महत्त्वपूर्ण हुने आकलन गरेर ह्यारिसले उनीहरूलाई भित्र्याएकी हुन्।

यसरी ह्यारिसको टोलीमा सामेल भएकामा २००८ मा ओबामाको चुनावी अभियान हाँकेका डेविड प्लफ प्रमुख छन्। त्यस्तै, ह्वाइट हाउसकी पूर्वसल्लाहकार स्टेफानी कजर, दोस्रोपटक ओबामालाई चुनाव जिताउने अभियानकी उपप्रमुख जेनिफर पालमिएरी र मिच स्टेवार्ट छन्।

२०१२ मा ओबामाको चुनावी अभियान सम्हालेका जिम मेसिना पनि सो टोलीमा छन्। उनले तुरुन्त चुनावी टोली गठन गर्नुपर्ने भएकाले अनुभवी मानिसहरूको आवश्यकता परेको बताएका छन्।

तर, ओबामाका सल्लाहकारहरू र बाइडेनका सहयोगीहरूबीच टक्कर पर्नसक्ने आशंका पनि गरिएको छ। किनभने ओबामाले बाइडेनलाई यसपटक चुनाव नउठ्न दबाब दिएका थिए।

ह्यारिसले भित्र्याएकाहरूमा ओबामाका नेसनल इकोनोमिक काउन्सिल निर्देशक जिन स्पर्लिङ र ओबामाकै लागि अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटको नेतृत्व गरेका ब्रायन डिज पनि छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .