अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएपछि अमेरिकी सिक्रेट सर्भिस (गुप्तचर सेवा) की निर्देशक किम्बर्ली चिटलले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
बीबीसीका अनुसार किम्बर्लीले राजीनामा पत्रमा जागिर छाड्ने निर्णय एकदमै गाह्रो भएको र भारी मनका साथ यो कदम चालेको उल्लेख गरेकी छन्।
चिटलले ट्रम्पमाथिको आक्रमणलाई ‘विगत केही दशकमा सिक्रेट सर्भिसको काममा सबैभन्दा ठूलो असफलता’ भनेकी छन्।
किम्बर्ली सन् १९९५ मा अमेरिकी सिक्रेट सर्भिसमा सामेल भएकी थिइन्। सेप्टेम्बर ९, २००१ मा भएको ९/११ आक्रमणका बेला तत्कालीन उपराष्ट्रपति डिक चेनीलाई उनैले ह्वाइट हाउसबाट निकालेकी थिइन्।
धेरै मानिसहरूले चेनी त्यो समयमा खतरामा रहेको अनुमान गरेका थिए।
किम्बर्ली चिटल पछि जो बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा सुरक्षा पर्यवेक्षक बनिन्। त्यसपछि किम्बर्लीलाई सुरक्षा सेवाको उपसहायक निर्देशक बनाइएको थियो।
चिटल अमेरिकाका राष्ट्रपति र देशका अन्य महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाको निरीक्षण गर्न खटिएकी पहिलो महिला थिइन्।
राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा किम्बर्ली चिटललाई अमेरिकी सिक्रेट सर्भिसको निर्देशकमा नियुक्त गरेका थिए।
Shares

प्रतिक्रिया