नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्रीमा कहिलेसम्म टिक्न सक्छन् र प्रधानमन्त्री हुँदा कस्तो तरिकाले काम गर्छन्, यो कुरा अब नितिश कुमार र चन्द्रबाबु नायडुमा निर्भर रहनेछ।
यसअघिका दुई चुनावमा भारतीय जनता पार्टीलाई नै एकल बहुमत प्राप्त थियो। यसपटक गठबन्धनले जेनतेन बहुमत पाएको छ। यस्तो स्थितिमा मोदीले आफ्ना कतिपय एजेन्डा छाड्नुपर्ने हुनसक्छ।
भाजपाले २४० सिट जितेको छ तर बहुमतका लागि २७२ सिट चाहिन्छ। यद्यपि, एनडीएसँग २९३ सिट छ। जुन सरकार बनाउन पर्याप्त छ।
चन्द्रबाबु नायडुको तेलगु देशम पार्टी र नितिश कुमारको जनता दल युनाइटेडले २८ सिट जितेका छन्। जुन संख्या एनडीएलाई बहुमत दिलाउन निर्णायक छ।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन बहुमतभन्दा ४० सिट पछाडि छ।
मोदीका लागि यो स्थिति सहज होइन। दुई कार्यकाल प्रधानमन्त्री रहँदा उनी निकै बलियो अवस्थामा थिए।
मोदीसँग गठबन्धन सरकार चलाएको अनुभव पनि छैन। गुजरातमा मुख्यमन्त्री हुँदा पनि सदनमा उनको प्रचण्ड बहुमत थियो।
भाजपाको बागडोर मोदीको हातमा पर्नेबित्तिकै एनडीएका अन्य सदस्यहरू लाखापाखा लाग्दै गयो। अकाली दल र शिव सेनाजस्ता भाजापाका दशकौँ पुराना सहयोगी निकै पहिले अलग भइसके।
तर, यसपटक सरकार बनेपछि मोदीले अन्य दललाई साथ लिएर अघि बढ्नुपर्नेछ। तर, चन्द्रबाबु नायडु र नितिश कुमारलाई आफ्नो साथमा लिएर हिँड्नु उनका लागि चुनौतीपूर्ण हुनेछ।
किनकि, नरेन्द्र मोदी दिल्ली आएपछि नितिश कुमार र चन्द्रबाबु नायडुसँग उनको सम्बन्ध निकै तिक्त समेत हुन पुगेको थियो।
२०१४ मा मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा यी दुवै भाजपाविरुद्ध थिए। यही लोकसभा चुनावको मुखमा उनीहरू एनडीएमा फर्केका थिए।
के गर्लान् नायडु र नितिश?
चुनावी नतिजा सार्वजनिक भइसकेपछि मंगलबार अबेर भाजपा मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै मोदीले आन्ध्र प्रदेशमा नायडु र बिहारमा नितिश कुमारको जितबारे चर्चा गरे।
आन्ध्र प्रदेशमा जितेपछि नायडुले एक्समा लेखेका थिए, ‘आन्ध्र प्रदेशका जनताले हामीलाई बलियो जनादेश दिएका छन्। यो जनादेश हाम्रो गठबन्धन र राज्यप्रति मान्छेहरूको विश्वासको प्रतिबिम्ब हो। हामी मिलेर आन्ध्र प्रदेशको पुनर्निर्माण गर्नेछौँ र यसको गौरवलाई पुनर्स्थापित गर्नेछौँ।’
तर, १२ सिट जितेका नितिश कुमारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
द हिन्दुका अनुसार भाजपाका बिहार अध्यक्ष सम्राट चौधरीले अनेक पटक नितिश कुमारसँग भेट्न खोज्दा पनि भेट्न सकेनन्। यसलाई लिएर विभिन्न अड्कल सुरु भएको छ।
इन्डिया गठबन्धनले पनि उनीसँग कुराकानी गरेको चचौ छ। यद्यपि, जदयुका नेता केसी त्यागीले मंगलबार साँझ आफूहरू एनडीएको साथमा रहने बताएका थिए।

मोदी र चन्द्रबाबु नायडुबीचको सम्बन्ध
गुजरातमा सन् २००२ मा दंगा हुँदा मुख्यमन्त्री मोदीको राजीनामा माग्ने नायडु एनडीएका पहिलो नेता थिए। अप्रिल २००२ मा हिंसा रोक्न तथा साम्प्रदायिक दंगाका पीडितलाई राहत दिन असफल भएको भन्दै नायडुको पार्टीले एउटा प्रस्ताव नै पारित गरेको थियो।
यसपटक उनको टीडीपीले १६ सिट जितेपछि २०१९ मा मोदीले दिएको एउटा भाषण सामाजिक सञ्जालमा सेयर हुँदैछ। जसमा उनले नायडुलाई ‘ससुराको पिठ्युँमा छुरा रोप्ने’ व्यक्ति भएको आरोप लगाउका छन्।
चुनावी सभामा मोदीले भनेका थिए, ‘उहाँ (नायडु) आफूलाई मभन्दा वरिष्ठ मान्नुहुन्छ।। राम्रो कुरा, तपाईं वरिष्ठ नै हो। तपाईं वरिष्ठ हो, पार्टी बदल्नमा, आफ्नै ससुराको पिठ्युँमा छुरा रोप्नमा र तपाईं वरिष्ठ हो, एकपछि अर्को चुनाव हार्नमा। त्यसमा त म वरिष्ठ होइन।’
अहिले त्यही भिडिओ भाइरल भइरहेको छ।
अमित शाहले पनि नायडुलाई ‘अवसरवादी’ भन्दै एनडीएको ढोका उनका लागि सदा बन्द भएको बताएका थिए।
तर, नायडु २०२४ को चद्धुनावभन्दा ठिक अगाडि एनडीएमा फर्किए।
२०१८ मा नायडुले आन्ध्र प्रदेशलाई विशेष राज्यको दर्जा दिन माग गर्दै एनडीए छाडेका थिए र केन्द्रबाट आफ्ना दुई मन्त्री पनि हटाएका थिए।
नायडुले त्यसबेला सदमा मोदीविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याएका थिए। जुन पास भएन।
गठबन्धनबाट निस्केपछि उनले भनेका थिए, ‘मोदीले योजनाबद्ध तरिकाले भारतका प्रतिष्ठित संस्थाहरूलाई नष्ट गरिदिए। भाजपा सरकारको शासनमा संस्थागत स्वायत्तता र लोकतन्त्रमाथि हमला भएको छ।
तर, आज उनै नायडु मोदीलाई सत्तामा टिकाउन निर्णायक हुनेछन्।

मोदीसँग नितिशको नाता
नितिश कुमारले २०१३ मा एनडीए गठबन्धन छाड्नुको कारण पनि मोदी नै थिए।
त्यतिबेला भाजपाले मोदीलाई चुनावी अभियानको प्रमुख बनाएको थियो। यसबाट नितिशलाई थाहा भइसकेको थियो, भाजपाले प्रधानमन्त्री पदको उम्मेदवार पनि मोदीलाई नै बनाउनेछ। यो नितिशलाई चित्त बुझ्ने कुरै थिएन।
नितिशलाई लाग्यो, मोदीको नेतृत्वमा एनडीएमा बस्ने हो भने आफ्ना मुस्लिम मतदाता अलग हुनेछन्। यहाँसम्म कि २०१० को बिहार विधानसभा चुनावमा प्रचारका लागि मोदीलाई बिहार आउन पनि दिएका थिएनन् नितिशले।
२०१४ मा नितिशको पार्टीले बिहारमा एक्लै चुनाव लडेको थियो। तर, उनी २ सिटमा खुम्चिए। २०१५ मा उनले आरजेडीसँग मिलेर बिहार विधानसभा चुनाव लडे र ठूलो जित हात पारे। दुई वर्षपछि उनी फेरि एनडीएमा प्रवेश गरे। २०१९ को लोकसभा चुनावमा ४० मध्ये ३९ सिटमा एनडीएले जित हात पार्यो।
२०२० को बिहार विधानसभा चुनावमा नितिश तेस्रो पार्टी भए पनि एनडीए सरकारको मुख्यमन्त्री उनी नै भए। २०२२ मा उनले एनडीए छाडे र यही वर्षको जनवरीमा उनी फेरि एनडीएमा प्रवेश गरे।
भारतको राजनीतिमा नितिशले गठबन्धन बदल्नु नौलो कुरा होइन। तर, त्यसले उनलाई कतिबेला किङमेकरको भूमिकामा ल्याइदिन्छ, थाहा हुँदैन। १२ सिटका नितिशलाई साथमा राख्नु मोदीका लागि ठूलो चुनौती हो।
यी दुई दल गठबन्धन फेर्न सक्छन्। यो विपक्षका लागि आशाको कुरा हो भने भाजपाका लागि चिन्ताको।
त्यसमाथि मोदीका कतिपय एजेन्डा यस्ता छन्, जसलाई गठबन्धन सरकारले लागू गर्न सजिलो छैन।
उदाहरणका लागि ‘वन नेसन वन इलेक्सन’ नागरिक कानुनजस्ता मुद्दामा नितिश र चन्द्रबाबु नायडु सहमत हुने संकेत देखिँदैन। यी दुई नेताको सहमतिबिना मोदी आक्रामक आर्थिक नीति पनि लागू गर्न सक्ने छैनन्।
मोदीसँग अटलबिहारी बाजपेयीको जस्तो अनुभव छैन। बाजपेयीले दर्जनभन्दा धेरै पार्टीको साथ लिएर सरकार चलाएका थिए। जसका कारण भाजपाले आफ्नो कतिपय एजेन्डा छाड्नुपरेको थियो।
यस्तोमा मोदीका सामु दुई विकल्प हुनेछन्ः कि आफ्नो एजेन्डा छाड्ने या साझा एजेन्डामा अघि बढ्ने।
(बीबीसी हिन्दीबाट)
Shares

प्रतिक्रिया