ad ad

ग्लोबल


चीन ताइवानविरुद्ध रक्तपातपूर्ण युद्ध होइन, नाकाबन्दीको रणनीति अपनाउन चाहन्छ : विज्ञ

चीन ताइवानविरुद्ध रक्तपातपूर्ण युद्ध होइन, नाकाबन्दीको रणनीति अपनाउन चाहन्छ : विज्ञ

नेपालखबर
जेठ १२, २०८१ शनिबार २०:३१,

ताइवानमा नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै चीनले सो टापु घेरेर सैन्य अभ्यास गर्‍यो। चीनको सो शक्ति प्रदर्शनले ताइवानमाथि सोझै आक्रमणभन्दा नाकाबन्दी लगाउने रणनीति चीनले अपनाउन सक्ने संकेत देखिएको छ।

ताइवानी राष्ट्रपति विलियम लाइ चिङ तेले शपथ खाएको तीन दिनपछि बिहीबार जनमुक्ति सेनाले ताइवान घेरेर दुई दिने सैन्य अभ्यास सुरु गरेको थियो। 

जनमुक्ति सेनाको इस्टर्न थिएटर कमान्डले सो अभ्यासमा सेना, नौसेना, वायु सेना र रकेट फोर्स सामेल हुने बताएको थियो।

सो थिएटर कमान्डको ‘युद्ध क्षमता र तयारीको परीक्षण गर्न’ सैन्य अभ्यास गरिएको पीएलएले बताएको छ।

यो अभ्यासले चीन सो टापुसँग प्रत्यक्ष युद्धभन्दा नाकाबन्दी गर्ने रणनीतिमा केन्द्रित रहेको देखाउने विश्लेषकहरुको भनाइ छ। उनीहरुका अनुसार त्यसो गर्दा चीनका लागि खर्च कम हुने र ताइवानलाई हुने क्षति पनि कम हुने चिनियाँहरुको हिसाब छ।

त्यस्तै, नाकाबन्दीजस्ता रणनीति अपनाउँदा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना पनि कम हुने विश्लेषकहरु बताउँछन्। 

ताइवानी नौसैनिक एकेडेमीका पूर्वप्रशिक्षक लु ली सिहले चीनले अहिले अभ्यास गरेको स्थान हेर्दा सिधा आक्रमणभन्दा नाकाबन्दीलाई ध्यानमा राखेको देखिने बताए।

‘उत्तरतर्फ अभ्यास गरिएको क्षेत्रले ताइपेइको महत्वपूर्ण राजनीतिक, आर्थिक र सैन्य निसानामाथि जोखिम पैदा गर्छ। यसको छोटो अवधिलाई हेर्दा अमेरिका र जापानले हस्तक्षेप गर्ने समय पनि पाउने छैनन्,’ उनले भने।

‘ताइवानमाथिको सोझो आक्रमण अति जोखिमपूर्ण हुन्छ। गत दुई दशकमा पीएलएमा गरिएको आधुनिकीकरणलाई ख्याल गर्दा पनि। किनभने ताइवानले रक्षा क्षमता बढाइरहेको छ। र, आक्रमणले अमेरिकी हस्तक्षेपको सम्भावना पनि निम्त्याउँछ,’ र्‍यान्ड कर्पोरेसनको ताइवान इनिसियटिभका निर्देशक रेमन्ड कुओ भन्छन्, ‘तर, त्यसविपरीत नाकाबन्दी भयो भने त्यसको जवाफ दिन ताइवान र अमेरिकालाई ज्यादा कठिन हुन्छ।’

सिंगापुरस्थित एस राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका अध्येता कोलिन कोह पनि यसमा सहमत छन्।

उनी भन्छन्, ‘नाकाबन्दीको रणनीति बेइजिङका लागि स्थल युद्धमा हुने रक्तपातबाट बच्ने विकल्प हुनसक्छ। तर, नाकाबन्दी पनि जोखिमरहित भने छैन। यदि चिनियाँहरुले ताइवानको हवाई र नौसैनिक क्षमता नष्ट गर्न सकेनन् भने नाकाबन्दीको प्रतिरोध हुनेछ।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .