ad ad

ग्लोबल


गाजा युद्धको ६ महिना : ३३ हजार ज्यान लिँदा पनि पूरा भएन हमास सिध्याउने इजरायलको लक्ष्य

गाजा युद्धको ६ महिना : ३३ हजार ज्यान लिँदा पनि पूरा भएन हमास सिध्याउने इजरायलको लक्ष्य

नेपालखबर
चैत २४, २०८० शनिबार १९:२८,

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलभित्र पसेर १२ सयको ज्यान जानेगरी आक्रमण गर्नुका साथै सयौँलाई बन्धक बनाए। 

बदलामा इजरायलले गाजापट्टीमा आक्रमण सुरु गर्‍यो। आक्रमण सुरु गर्दा इजरायलको घोषित लक्ष्य थियो– हमासलाई सिध्याउने र बन्धक फर्काएर ल्याउने।

६ महिना लामो भीषण आक्रमणपछि आज इजरायलले गाजाका ३३ हजारभन्दा बढीको ज्यान लिइसकेको छ। जसमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन्। तर, इजरायलले न हमासलाई सिध्याउन सक्यो, न उसले सबै बन्धक नै छुटाउन सक्यो। बरु कैदी साटफेरमार्फत एक सयभन्दा बढी बन्धक छुटे।

यत्तिका रक्तपातपछि इजरायलको लक्ष्य पूरा हुनु त कता हो कता, बरु ऊ आफैँ अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएको छ। इजरायलमाथि नरसंहारको आरोप लागेको छ, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलेको छ र उसलाई दशकौँदेखि निसर्त साथ दिँदै आएका अमेरिकालगायत पश्चिमा मुलुकले पनि उसको आलोचना गर्न थालेका छन्। 

इजरायली सैनिकहरूले बेलगाम तरिकाले खुल्लमखुल्ला निहत्था सर्वसाधारणको ज्यान लिइरहेका घटना सार्वजनिक भइरहेका छन्। त्यसैले, इजरायललाई पश्चिमा मुलुकहरूको सहयोगमाथि प्रश्न उठ्दै आएको छ। पछिल्लो समय गाजामा राहत बाँड्न गएका ७ जनाको हत्या भएपछि अमेरिकाले सर्वसाधारणको ज्यानको सुरक्षा गर्न इजरायललाई भनेको छ।

कति हमास लडाकु मारिए?
युद्ध सुरु हुनुअघि गाजामा हमासका ३० हजार लडाकु भएको अनुमान गरिएको थियो। 

हालै इजरायली सेनाले १३ हजार लडाकु मारिदिएको दाबी गरेको छ। तर, त्यो संख्या उसले कसरी हिसाब गर्‍यो, स्पष्ट छैन। 

इस्माइल हनियाजस्ता हमासका शीर्ष नेता विदेशमा बस्छन्। तर, हमासको सैन्य संरचनअन्तर्गतका कमान्डर गाजामै भएको अनुमान गरिन्छ।

इजरायलले मारिएका हमास नेताहरूको नाम सार्वजनिक गर्ने गर्छ। यो लडाइँमा उसले ११३ जनाको नाम सार्वजनिक गरेको छ। तीमध्ये अधिकांश युद्धको सुरुवाती तीन महिनामा मारिएका थिए।

तर, मार्चअघि उच्च तहका कमान्डर मारिएका थिएनन्। २६ मार्चमा हमासका सैन्य शाखाका उपकमान्डर मारवान इसा मारिएको इजरायली सेनाले दाबी गर्‍यो। युद्ध सुरु भएयता मारिएका सबैभन्दा उच्च पदस्थ उनी नै हुन्। केही नेताहरूलाई विदेशमा पनि इजरायलले हत्या गराएको बताइन्छ। 

तर, इजरायली सेनाले हमासका शीर्ष नेताहरूलाई छुन सकेको छैन। हमास प्यालेस्टिनी जनसंख्याको अभिन्न हिस्सा भएकाले हमास सिध्याउने इजरायलको लक्ष्य पूरा नहुने तर्क कतिपयले गरिरहेका छन्।

कति बन्धक छन् गाजामा?
अक्टोबर ७ मा हमास २५३ जनालाई बन्धक बनाएको थियो। त्यसमध्ये १०९ जनालाई हमासले छाडिदिएको थियो। कैदी साटफेर गर्दा। ३ जना युद्धका क्रममा इजरायली सेनाद्वारा मुक्त भएका थिए।

११ जना बन्धक लडाइँकै क्रममा मारिए। तिनको शव फेला परेको छ। जसमध्ये ३ जनालाई इजरायली सेनाले नै गोली हानेर मारेको थियो।

बाँकी १३० जना भए। जसमा बन्धक बनाइएका नेपाली विपीन जोशी पनि पर्छन्।

तर, तीमध्ये पनि ३४ जना मारिइसकेको इजरायलको दाबी छ। उता हमासले भने अझ धेरै बन्धक मारिएको बताएको छ। 

गाजा लाखौँ मानिस भोकमरी र इजरायली सेनाको आक्रमणको सामना गरिरहेका छन्। उता बेन्यामिन नेतन्याहुको इजरायली सरकारले जनसमर्थन गुमाउन थालेका छन्। उनीविरुद्ध प्रदर्शनहरू हुन थालेका छन्।

इजरायलसँग यो युद्ध अन्त्य गर्ने रणनीति पनि नभएको विश्लेषण हुन थालेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .