ग्लोबल


खरसाङमा अस्ताए चर्चित ब्याण्ड परिक्रमाका संस्थापक सोनाम शेर्पा

खरसाङमा अस्ताए चर्चित ब्याण्ड परिक्रमाका संस्थापक सोनाम शेर्पा

शैलेन्द्र समदर्शी
फागुन ४, २०७६ आइतबार ९:४२,

चर्चित भारतीय रक ब्यान्ड ‘परिक्रमा’ का संस्थापक एवं शीर्ष गितारबादक सोनाम शेर्पाको निधन भएको छ।

शेर्पाको शुक्रबार अपराह्न १ बजेर २० मिनेटमा खरसाङस्थित एक होटलमा निधन भएको हो।

शेर्पा होटलको कोठामा बेहोश अवस्थामा भेटिएका थिए। उनलाई तत्कालै खरसाङ अस्पताल लगिएको थियो, अस्पताल पु¥याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

हृदयाघातको कारण उनको निधन भएको बताइए तापनि पोस्टमार्टम रिपोर्टपछि मात्रै कारण बताउन सकिने खरसाङ प्रहरीको भनाइ छ।

शेर्पाको शनिबार सिलगढ़ीस्थित उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमार्टम गरिएको थियो।

दिल्ली बस्दै आएका सोनाम शेर्पा केही दिनअघि खरसाङ आएका थिए। उनी शुक्रबार नै दिल्ली फर्कने तयारीमा थिए।

सोनम शेर्पाद्वार संगीतवद्ध ‘ब्रोकन विङ्स’ नामक फिल्मको खरसाङमा सुटिङ चलिरहेको छ। शेन्पेन खास्मारद्वारा निर्देशित यो चलचित्रको संगीतकै कामलाई लिएर चार दिनअघि उनी खरसाङ आइपुगेका थिए।

बिहीबार काम सिध्याएका उनी शुक्रबार दिल्ली फर्किने तयारीमा थिए। तर, दिल्ली फर्कनका लागि होटलबाट निस्कनुअघि नै उनलाई हृदयाघात भएको बताइएको छ।

सो समयमा होटलको कोठामा शेर्पा एक्लै थिए। फिल्मको टिम सुटिङका लागि निस्किसकेको थियो।

चर्चित गिटारबादकका रूपमा भारतभरि चिनिएका शेर्पा ८ अक्टोबर १९७१ मा कालेबुङमा जन्मेका हुन्।

सानै उमेरदेखि गिटारप्रति उनको लगाव गजबको थियो। ९ वर्षदेखि गिटार बजाएर रमाइरहने सोनाम शेर्पा पछि अध्ययन र कामका लागि दिल्ली गए।

१७ जून १९९१ मा दिल्लीमा शेर्पाले सुबिर सलिक, नीति मलिक, प्रशान्त बहादुर, चिन्तन कारा र राहुल मल्होत्रासँग मिलेर परिक्रमा ब्यान्ड स्थापना गरेका थिए।

त्यस्तै उनले दिल्लीमा परिक्रमा संगीत स्कूल पनि सञ्चालन गर्दै आएका थिए। भारतको रक संगीतमा परिक्रमा चर्चित ब्यान्ड हो। मञ्जुनाथ फिल्ममा समेत संगीत दिइसकेका सोनाम शेर्पाको निधनले भारतको संगीत जगत् नै शोकमा डुबेको छ।

उनको निधनमा शोक ब्यक्त गर्दै बलिउडका म्युजिक कम्पोजर विशाल ददलानीले ट्विट गरेका छन्, ‘सोनाम शेर्पा गिटार प्लेयरभन्दा धेरै केही थिए। उनी अग्रगामी थिए, शिक्षक थिए। धेरैलाई प्रेरणा दिए। उनी एक असल मित्र थिए। आफ्नो प्रतिभाका कारण लोकप्रियता कमाएका शेर्पा सधैं नम्र थिए।’

परिक्रमाले धेरै लोकप्रिय गीत दिएको छ। बट इज रेन्ड, टियर्स अफ दि विजार्ड र आइ एम ड्रिमिङजस्ता हिट गीतको कम्पोजर शेर्पा ४८ वर्ष पुगेका थिए।

परिक्रमा भारतकै सबैभन्दा पुरानो ब्यान्डमध्ये एक हो। हजारभन्दा अधिक लाइभ परफर्मेन्स गर्ने शेर्पालाई रोलिङ स्टोन्स पत्रिकाले भारतका शीर्ष १० गिटारिस्टमा स्थान दिएका थिए।

बीबीसीले उनलाई केन्द्रमा राखेर परिक्रमाको डक्युमेन्ट्री पनि बनाएको छ। म्युजिसियन र कम्पोजरको रूपमा चिनिने सोनाम शेर्पाले परिक्रमाबाहेक मृग्या र नर्थइस्ट एक्सप्रेस दुईवटा ब्यान्ड पनि स्थापना गरेका थिए।

शेर्पाको निधनप्रति दुख व्यक्त गर्दै बलिउडका कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .