ad ad

ग्लोबल


छोरी उपराष्ट्रपति छिन्, पूर्वराष्ट्रपति पिताले दिए देश टुक्र्याउने धम्की

मार्कोस–डुटेर्टे गठबन्धनमा दरार
छोरी उपराष्ट्रपति छिन्, पूर्वराष्ट्रपति पिताले दिए देश टुक्र्याउने धम्की

डुटेर्टे र मार्कोस


नेपालखबर
माघ २३, २०८० मंगलबार १५:४७,

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेले देश टुक्र्याउने धम्की दिएका छन्। डुटेर्टेले आफ्नो गृहक्षेत्र मिन्दानाओको स्वतन्त्रता आह्वान गरेका हुन्।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँगको गठबन्धन टुटेसँगै यी दुई नेताबीच विवाद छताछुल्ल भएको हो।

गत चुनावमा डुटेर्टे र मार्कोस परिवारबीच गठबन्धन भएको थियो। मार्कोस जुनियर राष्ट्रपति बन्दा डुटेर्टेकी छोरी सारा उपराष्ट्रपति बनेकी थिइन्।

तर, अहिले अनेक विषयमा यी दुई खलकबीच विवाद सुरु भएको छ।

भूराजनीतिमा मार्कोसले डुटेर्टेको पालामा लिएको चीननिकट अडान परिवर्तन गरेका छन्। र, अहिले मुलुकलाई अमेरिकानिकट बनाएका छन्। अमेरिकी सेनाको पहुँच पनि उनले फिलिपिन्समा बिस्तार गरेका छन्।

त्यस्तै, मार्कोसले कम्युनिस्ट विद्रोहीहरुसँग शान्ति वार्ता पनि सुरु गरेका थिए। जसलाई यसअघिका राष्ट्रपति डुटेर्टेले बन्द गरेका थिए।

तर, उनीहरुबीचको सम्बन्धमा सबभन्दा ठूलो दरार नोभेम्बर महिनामा आयो। जब मार्कोसले अन्तर्राष्ट्रिय अपराध अदालतमा पुनः सदस्य बन्ने विषयमा सोचविचार गरिरहेको बताए।

डुटेर्टेको लागुऔषध विरुद्धका अभियानमा हजारौँ मारिएको भन्दै अदालतले छानबिन गर्ने बताएपछि २०१८ मा डुटेर्टेले सदस्यता त्यागेका थिए। त्यसको छानबिन अझै चलिरहेको छ।

त्यस्तै, संविधान संशोधन गर्ने विषयमा पनि उनीहरुबीच मतभेद देखिएको छ। व्यवसायलाई सहज पार्न, लगानीकर्ता आकर्षित गर्न भन्दै १९८७ को संविधान संशोधनको प्रयास भइरहेको छ। जसलाई मार्कोसले समर्थन गरेका छन्। तर, डुटेर्टेले यो राष्ट्रपतिको कार्यकालमा रहेको सीमितता हटाएर मार्कोस सत्तामा टिकिरहने दाउ भएको आरोप लगाएका छन्।

अहिले फिलिपिन्समा ६ वर्षको एक कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाइन्छ। सन् २०२८ को चुनावमा मार्कोस उठ्न पाउने छैनन्। त्यतिखेर डुटेर्टेकी छोरी साराका लागि मौका हुन सक्छ। 

सारा डुटेर्टे

डुटेर्टेले मार्कोसलाई उनका बुवाले जस्तै देश छाडेर भाग्न दिन आउनसक्ने चेतावनी दिएका छन्।

अघिल्लो साता डुटेर्टेले सार्वजनिक रुपमै मार्कोस लागुऔषध दुर्व्यसनी भएको आरोप लगाएका थिए। 

जवाफमा मार्कोसले डुटेर्टेले फेन्टानाइल प्रयोगकर्ता भएको बताएका थिए।

डुटेर्टेले मिन्दानाओको स्वतन्त्रता आह्वान गरेपछि सरकारी अधिकारीहरुले त्यस्तो प्रयास दबाउन बलप्रयोग गर्न नहिच्किचाउने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .