पाकिस्तान सरकारले अफगानिस्तानबाट गैरकानुनी रूपमा आएका शरणार्थीहरूलाई नोभेम्बरसम्म देश छाड्न भनेको छ। एक अनुमानअनुसार पाकिस्तानमा १७ लाख अफगान शरणार्थी छन्।
यस वर्ष दुवै देशको सीमामा धेरै चरमपन्थी हमला भएपछि पाकिस्तान र अफगानिस्तानबीच तनाव बढेको छ।
पाकिस्तानले सीमा क्षेत्रमा भएका आक्रमणका लागि अफगानिस्तानमा रहेका विद्रोहीलाई दोष दिएको छ तर तालिवान प्रशासनले यसलाई अस्वीकार गरेको छ।
पाकिस्तानले मंगलबार ‘अवैध’ आप्रवासीविरुद्ध कारबाही गर्ने घोषणा गरेको छ।
गत हप्ता अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको मस्तुङ सहरको मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको थियो।
तर, पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले अवैध आप्रवासीविरुद्ध कारबाही गर्ने घोषणा गर्दा उनले अफगानिस्तानको नाम भने लिएनन्।
तर सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले त्यहाँका हजारौं मानिसहरूलाई आफ्नो देशमा स्थान दिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार करिब १३ लाख अफगानी शरणार्थीका रूपमा दर्ता भएका छन्। योसँगै ८ लाख ८० हजार अफगानीले कानुनी रूपमा बस्ने अनुमति पाएका छन्।
तर पाकिस्तानका गृहमन्त्रीले यी सबै बाहेक १७ लाख अफगानी पाकिस्तानमा गैरकानुनी रूपमा बसिरहेको दाबी गरेका छन्।
उनीहरूले नोभेम्बर अन्तिमसम्ममा देश छाड्नुपर्नेछ, आफ्नै इच्छाले होस् वा जबर्जस्ती पठाउन किन नपरोस्। बीबीसी
Shares
प्रतिक्रिया