ग्लोबल


क्रिमियामा रहेको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण

क्रिमियामा रहेको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण

नेपालखबर
साउन ७, २०८० आइतबार ७:२७, काठमाडौँ

रुसको कब्जामा रहेको क्रिमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ।

आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण आसपासका पाँच किलोमिटर क्षेत्रमा रहेका नागरिकको उद्धार गरिएको बताएका छन्। क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले उक्त आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेस भने गर्न सकेका छैनन्।

आक्रमणमा हालसम्म मानवीय क्षति भएको पुष्टि भएको छैन। सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन्, 'अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन।'

विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको उनले बताएका छन्। ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको थियो।

रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए, तर पछि यसलाई सवारी अवागमनका लागि खोलिएको थियो। आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ।

यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ। सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो। त्यसपछि, यो पुल क्रिमियामा यसको पहुँचलाई सहज बनाउन निर्माण गरिएको थियो, जुन २०१८ मा यातायात सञ्चालन गर्न खोलिएको थियो।

उक्त पुल सञ्चालनमा आएसँगै दक्षिण युक्रेनमा रुसी सेना प्रवेशका लागि सहज भएको थियो।

युक्रेनको सेनाले आक्रमणको जिम्मेवारी लिइसकेको छैन। तर उसले गोदाम र तेल भण्डारमा विस्फोट गरिएको भिडिओ भने पोस्ट गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad