भारतको मणिपुर साढे २ महिनादेखि जलिरहेको छ। मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा हालसम्म १३० जनाको ज्यान गएको पुष्टि भएको छ भने ६०,००० जना विस्थापित भएका छन्।
हालै महिलामाथि हुने यौन दुर्व्यवहारसँग सम्बन्धित भिडिओ सार्वजनिक भएपछि मणिपुरको भयावह अवस्थाको प्रमाण सारा विश्वसामु आएको छ।
बुधबार साँझ सार्वजनिक भिडिओ साढे २ महिना पुरानो हो। पीडितले उजुरी दिएकै २ महिना कटिसक्यो। तर प्रहरीले आरोपीलाई अझै पक्रन सकेको छैन।
सार्वजनिक भिडिओमा दुई महिलालाई मानिसहरूको भिडले निर्वस्त्र हिँडाएको देखिन्छ। उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा लगेको देखिन्छ। भिडिओमा देखिएकी एक महिलाको उमेर १९ वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ।
पीडित १९ वर्षीया युवतीले अङ्ग्रेजी पत्रिका ‘द टेलिग्राफ’लाई घटटनाबारे बतताएकी छन्।
यस्तो छ उनको बयान :
म मणिपुरको एक स्वास्थ्य सेवा संस्थानको विद्यार्थी हुँ। उक्त छात्रावासमा हामी ९० जना थियौँ। त्यो घटना हुँदा त्यहाँ हामी १० जना थियौँ। २ जनालाई प्रहरीले उद्धार गर्यो। ६ जना भाग्न सफल भए।
म र मेरो एकजना साथीलाई त्यो भिडले समात्यो। त्यो भिडमा महिलाहरू पनि थिए। हामीलाई अरामबाई टेङ्गोल र मेइती लिपुनले आधा घण्टासम्म फुटबललाई जस्तो लात हानिरहे। उनीहरू उफ्रिँदै हामीलाई कुटिरहेका थिए। म शब्दमार्फत् भन्न पनि सक्दिनँ कि त्यो समय कति क्रूर थियो। हामीमाथि हमला हुँदा हर्षोल्लासका साथ कराइरहेका महिलाहरूको आवाज म कहिल्यै बिर्सने छैन। महिलाहरूले ती युवाहरूलाई हामीलाई मार्न उक्साइरहेकी थिइन्।
कुट्दाकुट्दा उनीहरू थाके, हामी बेहोस भयौँ। बेहोस हुनुअघि मलाई धरमर याद छ, उनीहरू ममाथि लात बर्साउँदै भनिरहेका थिए, 'मरेकी छैन।'
जब मलाई होश आयो, म इम्फालको जवाहरलाल नेहरू इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको आईसीयूमा थिएँ। मलाई प्रहरीहरूले उठाएर त्यहाँ भर्ना गरेको रहेछ। मेरा केही साथीहरू र परिवारका सदस्यहरूले मलाई दिल्लीको एम्समा लगे र मलाई यहाँ भर्ना गरियो।
मैले स्वास्थ्य क्षेत्रमा करियर बनाउने सपना देखेकी थिएँ, सबै चकनाचुर भयो। तपाईं चुराचन्दपुर जानुभयो भने भेट्नुहुनेछ, म जस्ता सयौँ महिलाहरू छन्, जोमाथि यसैगरी आक्रमण भएको छ। उनीहरूमाथि पाशविक आक्रमण भएको छ।
३ मेदेखि आक्रमण सुरु भयो। हामी अझैँ सुनिरहेका छौँ, आक्रमण अझै भइरहेकै छन्।
बिहीबार मुख्यमन्त्री एन विरेनले यस्ता घटनालाई समाजमा कुनै स्थान नभएको बताउनुभयो। तर के उनलाई थाहा छैन यो सब किन भइरहेको छ? त्यो भिडिओ हेरेर पनि उनीहरू यस्तो भन्दैछन्? महिलाहरूमाथि एउटा जातको भएको कारण भइरहेका यस्ता आक्रमणबारे विश्वास गर्न मुख्यमन्त्री अझै यस्ता कति भिडिओको पर्खाइमा हुनुहुन्छ?
मुख्यमन्त्रीले जे भनेका छन् त्यसको अहिले कुनै अर्थ छैन। किनभने एफआईआर दर्ता भएको ६५ दिन भइसक्यो। म अझै न्यायको पर्खाइमा छु। एफआईआरमा, मैले मे ४ मा साँझ ४ बजे मेरो संस्थानमा १५० हतियारधारी पुरुष र महिलाले कसरी आक्रमण गरी मलाई निशाना बनाएको बताएकी छु।
मैले पहिले शून्य एफआईआर दर्ता गरेकी थिएँ। मणिपुरमा उपचारपछि थप उपचारका लागि दिल्लीको एम्समा ल्याइएपछि मैले दिल्लीको उत्तम नगर प्रहरी चौकीमा एफआईआर दर्ता गरेकी थिएँ। उपचारपछि मणिपुर फर्किएँ। ३० मेमा चुराचन्दपुर पुलिस स्टेसनमा अर्को शून्य एफआईआर दर्ता गरेँ।
ती एफआईआरहरू त्यहाँको प्रहरी चौकीमा पठाइयो, जसको अधिकारक्षेत्रमा हाम्रो संस्थान आउँछ।
म धेरै दिन अस्पतालमा बसें तर मेरो बयान रेकर्ड गर्न कसैले मलाई सम्पर्क गरेन। जबकि यो अस्पताल इम्फालको प्रहरी चौकीबाट केही मिटर मात्र टाढा थियो
आक्रमणकारीले हाम्रो प्रतिष्ठानमा घुसेर कुकी विद्यार्थीको परिचयपत्र चेक गरेर निशाना बनाए। तर मुख्यमन्त्री यसो भन्दै हुनुहुन्छ? मलाई उहाँसँग न्याय पाइन्छ भन्ने कुनै आशा छैन। तर एउटा प्रश्न छ। हेल्थकेयर विद्यार्थीको रूपमा, हामीलाई धर्म, जाति वा अन्य कुनै मापदण्डको आधारमा बिरामीलाई भेदभाव नगर्न सिकाइएको छ। मुख्यमन्त्रीहरूले सबै मणिपुरीहरूलाई तिनीहरूको धर्म, जातीय समूह वा जातको पर्वाह नगरी सेवा गर्ने शपथ लिएका छन्। के उनले शपथको इज्जत गरेका छन्?
Shares

प्रतिक्रिया