ad ad

ग्लोबल


मणिपुरमा कुकी महिलामाथि यौन दुर्व्यवहार, निवस्त्र गाउँ डुलाएर सामूहिक बलात्कार

मणिपुरमा कुकी महिलामाथि यौन दुर्व्यवहार, निवस्त्र गाउँ डुलाएर सामूहिक बलात्कार

विरोध प्रदर्शन गर्दै कुकी महिला


नेपालखबर
साउन ४, २०८० बिहिबार १०:३०, काठमाडौँ

भारतको मणिपुरमा गएको २ महिनायता मेइती र कुकी समुदायबीच साम्प्रदायिक हिंसा चलिरहेको छ। हिंसात्मक द्वन्द्वकाबीच बुधबार सामाजिक सञ्जालमा एक जघन्य अपराधको भिडि‌ओ सार्वजनिक भयो। भिडिओमा दुई कुकी महिलामाथि यौन दुर्व्यवहार गरिएको छ।

सार्वजनिक भिडि‌ओमा युवाहरूको ठूलो भिडले ती महिलालाई निवस्त्र बनाएर गाउँ डुलाइरहेको देख्न सकिन्छ। भारतीय सञ्चार माध्यमका अनुसार उक्त भिडिओको पुष्टि गर्दै मणिपुर प्रहरीले घटना ४ मेको भएको बताएको छ।

मणिपुरको थौबल जिल्लामा ती महिला यौन दुर्व्यवहारको सिकार भएको प्रहरीले बताएको छ। 

मणिपुर प्रहरीका उच्च अधिकारी एसपी के मेघचन्द्र सिंहले यस घटनाका सम्बन्धमा जारी गरेको प्रेस नोटमा मणिपुर प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । तर हालसम्म यो घटनामा कोही पनि पक्राउ परेका छैनन्।

‘यो घटना मे ४ को हो। घटनामा अज्ञात समूहविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता भएको छ। यस विषयमा अनुसन्धान सुरु भइसकेको र सीघ्र दोषीलाई पक्राउ गर्ने प्रयास जारी छ,' भिडिओ सार्वजनिक भएपछि प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

इन्डियन एक्सप्रेसले  मेइतीबहुल थौबल जिल्लामा मे ४ मा कुकी-जोमी समुदायका महिलामाथि यौन दुर्व्यवहार भएको लेखेको छ। उनीहरुविरुद्ध १८ मेमा कांपोकपी जिल्लामा उजुरी दर्ता भएको र उक्त उजुरी सम्बन्धित प्रहरी चौकीमा पठाइएको उल्लेख गरेको छ।

भिडिओमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ। भिडिओमा दुईजना महिला मात्रै देखिन्छन्। तर भीडले ५० वर्षीया महिलालाई पनि निवस्त्र पारेर दुर्व्यवहार गरेको उजुरी परेको छ। 

उजुरीमा महिलालाई सामूहिक बलातत्कार गरेर हत्या गरेको उल्लेख गरिएको छ। ८ सयदेखि १ हजार मानिसले महिलालाई आक्रमण गरेको बताइएको छ। तीन महिलालाई भीडको अगाडि नग्न हिंड्न बाध्य पारिएको थियो र युवतीलाई सार्वजनिक रूपमा सामूहिक बलात्कार गरेको आरोप छ। महिलाका १९ वर्षीय भाइले बचाउन खोज्दा उनको पनि हत्या गरिएको पनि बताइएको छ।

केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति इरानीले ट्विटरमा उक्त घटनाबारे मुख्यमन्त्री बिरेन सिंहसँग कुरा भएको लेखेकी छन्। दोषीलाई कारवाही गर्न कुनै कसर बाँकी नछाड्ने प्रतिवद्धता उनले गरेकी छन्।

उक्त भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कारवाहीको माग गर्दै अधिकारकर्मीले अभियान चलाएका छन्। कांग्रेसलगायत विपक्षी दलले सत्तारुढ भाजपाले मौन रहेर हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .