ad ad

ग्लोबल


भारत वर्षा : ३४ जनाको मृत्यु, ७३६ सडक अवरुद्ध,

भारत वर्षा : ३४ जनाको मृत्यु, ७३६ सडक अवरुद्ध,

नेपालखबर
असार २५, २०८० सोमबार ८:५०, काठमाडौँ

भारतमा भारी वर्षापछि गएको बाढी र बादलका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ।

उत्तर र पश्चिम भारत वर्षाले प्रभावित भएको हो। हिमाचल प्रदेशलगायत पहाडी राज्यमा सबैभन्दा क्षति भएको छ। अविरल वर्षाका कारण गएको २४ घण्टामा पहिरो, चट्याङ, बाढीले घर भत्किएर ३४ जनाको मृत्यु भएको छ।

हिमाचलमा मात्रै ११ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसबाहेक उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जनाको मृत्यु भएको छ।

हिमाचलको मण्डीमा ब्यास खोलाको बाढीले ४० वर्ष पुरानो पुल बगाएको छ। दिल्लीमा ४१ वर्षपछि जुलाईमा एकै दिन १५३ मिलिमिटर पानी परेको छ। वर्षाका कारण उत्तरी रेलवेले १७ वटा ट्रेन रद्द गरेको छ। १२ वटा ट्रेनको रुट परिवर्तन गर्नु परेको थियो।

पहाडी राज्यहरूमा पहिरोले सडकहरू भग्नावशेषमा परिणत भएका छन् भने राजधानी दिल्लीलगायत समतल राज्यका सडकहरू पानीमा डुबेका छन्। जसकारण सवारी अवागमन नराम्ररी प्रभावित भएको छ। दिल्लीमा यमुनाको पानी खतराको स्तर नजिक पुगेको छ। 

हिमाचलमा गत जुन २४ मा मौसम भित्रिएकोमा त्यसयता जनधनको क्षति भइरहेको छ। शनिबार राति मण्डी र कुल्लुमा पानीको सतह बढेर तीनवटा पुल, एउटा एटीएम र चार पसलहरू बगेका थिए। मौसम पूर्वानुमान महाशाखाले आगामी ४८ घण्टामा भारी वर्षाको सम्भावना रहेकोले रातो र सुन्तलाको अलर्ट जारी गरेको छ। अम्बालाबाट उना-अम्ब-दौलतपुर चोकसम्म आउने वन्दे भारतलगायत अन्य रेलहरूको अवागमन पञ्जाबका धेरै क्षेत्रमा ट्र्याकमा पानी जमेको कारण रोकिएको छ।

श्रीखण्ड महादेवको यात्रा दुई दिनका लागि स्थगित भएको छ। राजस्थानको हनुमानगढमा ६ इन्च पानी परेको छ। अर्कोतर्फ झुन्झुनु र सिकरमा बाढीको अवस्था छ।बादल पड्किएर ब्यास नदीमा आएको बाढीले कुल्लु–मनालीमा धेरै सवारीसाधन बगाएको छ। मनाली–लेह, चण्डीगढ–मनालीलगायत पाँच राष्ट्रिय राजमार्ग, ७३६ सडक पहिरोका कारण बन्द भएका छन्। सम्पदा कालका–शिमला ट्र्याकमा भग्नावशेष खसेपछि रेल अवागमन रोकिएको छ।

दिल्लीमा यमुना नदीको पानी खतराको निशान नजिक पुगेको छ। राति ९ बजे पुरानो रेलवे पुलमा पानी २०३ दशमलव ६२ मिटर उचाइमा थियो जुन रातो चिन्हभन्दा १ दशमलव ७१ मिटर तल थियो। यमुनानगरको हथिनीकुण्ड ब्यारेजबाट लगातार पानी छोडेपछि दिल्ली सरकारले बाढीको चेतावनी जारी गरेको छ। हालसम्म एक लाख क्युसेकभन्दा बढी पानी छोडिएको छ। दिल्लीमा आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ। यो ४१ वर्षअघि सन् १९८२ जुलाई २५ मा भएको १६९.९ मिलिमिटर वर्षापछिको उच्च हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .